
काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चा संविधान संशोधनमा सहमति नजिक पुगेका छन्। सीमाङ्कन थाती राखेर बाँकी विषयमा संविधान संशोधन गरेर निर्वाचनमा जाने विषयमा दलहरु सहमति नजिक पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण अघि नेताहरुसँग छलफल गरी सहमतिको प्रयास गरेका हुन्। प्रचण्ड एक साता लामो भ्रमणका लागि आजै चीन प्रस्थान गर्दैछन्।
प्रचण्डले आजै भारतबाट फर्किएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि संशोधनका विषयमा छलफल गरेका छन्।
सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रचण्डले चार बजेदेखि ५५ मिनेट यादवसँग छलफल गरेका हुन्। छलफलमा यादवसँगै सह अध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए।
लगत्तै प्रचण्डले पाँच बजेदेखि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेका थिए। भेटमा कांग्रेस नेता कृष्ण सिटौलासमेत सहभागी भएका थिए। सिटौला संविधान संशोधनका लागि मधेसी मोर्चासँग सहमति जुटाउन सत्तारुढ दलहरुले गठन गरेको कार्यदलमा समेत रहेका छन्।
भेटमा प्रचण्डले सीमाङ्कन थाती राखेर संविधान संशोधनमा जान आग्रह गरेका थिए। साथै संशोधनमा सहमतिमा आउन आग्रह गरेका थए।
एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार भेटमा प्रचण्डले सीमाङ्कन थाती राख्न मधेसी मोर्चा लचिलो देखिएको बताएका थिए।
'उहाँले सीमाङ्कन थाती राखेर संशोधन अगाडि बढाउन मधेसी मोर्चा लचिलो छ भन्नुभयो। हामीले संविधान संशोधनको प्रक्रियामा जान तयार रहेको बतायौँ', गौतमले भने।
प्रचण्डले चीन भ्रमणका विषयमा समेत ओली र गौतमसँग कुराकानी गरेका थिए। यसैबीच मधेसी मोर्चा, कांग्रेस, माओवादी र प्रतिपक्षी एमालेको बैठक बालुवाटारमा सुरु भएको छ।