PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

एक करोड लागतमा बनेको प्रहरी भवन प्रयोगविहीन



पहिलोपोस्ट

बैतडी : शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीको पुर्चौडीमा रु एक करोडभन्दा बढी लगानीमा निर्माण गरेको प्रहरी चौकी, पुरघाटको भवन निर्माण सम्पन्न भएको सात महिनासम्म पनि प्रयोगविहीन अवस्थामा रहेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले केन्द्रबाट उद्घाटनका लागि कोही नआएकाले प्रयोगविहीन भएको बताए। ‘माथिबाट उद्घाटनका लागि आउने तयारी भएको छ’, उनले भने ‘छिट्टै प्रहरी नवनिर्मित भवनमा सर्छ।’

सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले ध्वस्त पारेपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयले गत वर्ष रु एक करोड आठलाख ६६ हजारको लगानीमा प्रहरी चौकी पुरघाटको भवन निर्माण गरेको हो। नवनिर्मित भवन उद्घाटन नहुँदा आजभोलि पुरघाट प्रहरी चौकीका प्रहरी एउटा घर भाडामा लिएर बसिरहेका छन्। 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीमा रु चार करोड ८५ लाख ४० हजारमा पाँचवटा नयाँ प्रहरी भवन निर्माण गरेको छ। सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले बढी ध्वस्त पारेकामध्ये सीमा प्रहरी चौकी झुलाघाट, इलाका प्रहरी कार्यालय पाटन, इलाका प्रहरी कार्यालय मेलौली, प्रहरी चौकी पुरघाट र प्रहरी चौकी खोडपेमा बनेका उक्त नवनिर्मित भवन आधुनिक सुविधासम्पन्न रहेका छन्। 

दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको बैतडीमा दरबन्दी कमी हुँदा मागअनुसार प्रहरी परिचालन गर्न तथा प्रहरी सेवा जनताको घर–आँगनमा पु¥याउन सकिएको छैन। 

‘हामीसँग भौतिक पूर्वाधारको पनि कमी छ’, प्रहरी नायब उपरीक्षक शर्माले भने ‘छिटो र प्रभावकारी सेवा प्रवाहका लागि मानवीय स्रोतसाधनका साथै भौतिकरुपमा पनि प्रहरी प्रशासन बलियो हुन आवश्यक छ।’रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell