
काठमाडौं : धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।
काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु र तीनजना घाइते भएका छन्। सो जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर रहेको छ ।
बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्गीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए। मृतकको हालसम्म सनाखत हुन सकेको छैन।
घाइतेको अवस्था गम्भीर रहेको र प्राथमिक स्वास्थ्य चौकी, भिङ्ग्रीमा उपचार जारी रहेको स्थानीय तथा घटनास्थलमा पुग्नुभएका टेकप्रसाद भण्डारीले जानकारी दिए। घटनास्थलमा अहिले जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली जाँदैछ । इलाका प्रहरी कार्यालय, भिङ्ग्रीबाट गएको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् । रासस