
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमूना बस्ती निर्माणका लागि गैर आवासीय नेपाली संघलाई स्वीकृति प्रदान गरेको छ।
प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबार बसेको बैठकले भूकम्प प्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने शर्तमा संघलाई नमूना बस्ती निर्माण गर्ने स्वीकृति दिएको हो।
प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिव ६ सय नमूना घरका लागि भूकम्प प्रतिरोधी डिजाइन परिमार्जन गरि पेश गर्ने शर्तमा बस्ती निर्माणको प्रक्रिया अघि बढाउन प्राधिकरण सहमत भएको हो।
गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि करिव ६ सय नमूना घर बनाउने घोषणा गरेको थियो। करिव ३५ करोडको लागत अनुमान गरिएको नमूना बस्ती आगमी अक्टोबरसम्म निर्माण सम्पन्न गरिसक्ने संघको योजना छ।