फलेवास (पर्वत) : केन्द्र विवादका कारण पर्वतको जलजला गाउँपालिकामा स्थानीय तह कार्यान्वयनमा आउन सकेको छैन।
सरकारले गत फागुन २७ गते राजपत्रमा प्रकाशित गरेर देशभर सातसय ४४ वटा स्थानीय तहको घोषणा गरेको दश दिन बिते पनि जलजलामा केन्द्र विवादका कारण कार्यालय स्थापना र नयाँ संरचनाअनुसारको सेवा प्रवाह हुन सकेको छैन।
राजपत्रमा जलजलाको केन्द्र साबिक माझफाँट गाविसको कार्यालय कायम भए पनि धाइरिङ, नाग्लिवाङ, बनौ, शालिजाका बासिन्दाले अपायक पर्ने भन्दै मिलनचोक क्षेत्रमा कार्यालय स्थापना गर्न दबाब दिँदै आएका छन्।
बाँसखर्क र माझफाँटका बासिन्दाले भने राजपत्रमा उल्लेख भएअनुसार केन्द्र कायम गरी कार्यान्वयन गर्नुपर्ने माग राख्दै दबाबमूलक आन्दोलन सुरु गरेका छन्। माझफाँटका बासिन्दाले स्थानीय तह कार्यान्वयमा ढिलाइ र केन्द्र परिवर्तनको प्रयास भएको भन्दै पर्वत बेनीमा प्रदर्शनका साथै दुई घन्टा बेनी–मालढुङ्गा सडकमा चक्का जाम गर्दै आएका छन्।
कर्मचारीले कार्यालय स्थापना गर्न र नयाँ संरचनाअनुसारको स्थानीय तह कार्यान्वयमा बेवास्ता गरेकाले दबाब दिन आन्दोलन गरेको स्थानीय युवा नवीन जिसीले बताए। पर्वतका राजनीतिक दलका जिल्लास्तरका नेताबीच जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा पर्ने मोहनचोक, पर्वत बेनी क्षेत्रमा स्थापना गर्ने सहमति भएको थियो।
धाइरिङ, नाग्लिवाङ, बनौ, शालिजा बासिन्दाले दलको सहमतिको स्वागत गरे पनि मल्लाज र बाँसखर्कका बासिन्दाले विरोध जनाएका छन्। जलजला गाउँपालिकामा साबिकको लेकफाँट गाविससमेत समेटिएको छ। रासस