काठमाडौँको धूँवा र धूलो धेरैका लागि अभिशाप बनेको छ। प्रदूषणको स्तर बढेकोले मास्क नलगाई बाहिर निस्कनै गाह्रो छ। मास्कै लगाएर म न्युरोड डुल्दै थिएँ।
न्युरोडको श्रीभैरव ज्वेलरी सुन पसल अगाडिको एउटा दृश्यले मलाई तान्यो। त्यहाँ चार पाँच जनाको समूहमा रहेका महिला धूलो सोहर्दै थिए। न उनीहरु महानगरपालिकाका फोहर सफा गर्ने कर्मचारीहरु थिए, न पसलका कर्मचारी, न स्थानीय।
तर उनीहरुको मेहनत गजबको थियो। पसल अगाडिको धुलो कुचो र ब्रसले समेत कोट्याई कोट्याई उनीहरु संकलन गर्दै थिए।
मसित क्यामेरा थियो, मैले भटाभट सटर दबाएँ। अनि गएर सोधेँ, के गरिरहनुभएको। उनीहरु मसित बोल्न चाहेनन्। नेपाली भाषा पनि राम्रोसँग बोल्न नआउने उनीहरुले ‘धुलो सफा गरेको’ भने। अरु केही जानकारी दिन चाहेनन्। न नाम नै बताउन चाहे।
नजिकैका पसलेहरुलाई सोध्दा उनीहरुमध्ये एकले भने, यी भारतीहरु हुन्। यिनीहरु धुलोमा सुन खोज्न आएका हुन्।
म छक्क परेँ- धुलोमा सुन?
मैले सुरुमा त पत्याइनँ। तर सोधखोज गरिहेर्दा हो रहेछ, सुन पसलहरुबाट निस्कने धुलोमा सुन भेटिने आशामा उनीहरुले धुलो संकलन गरी लाने रहेछन्।
काठमाडौँ बाहिर धुलोमा सुन खोज्नेहरुबारे धेरै मिडियामा खबर आइसकेको छ। कान्तिपुरका अनुसार पूर्वका विर्तामोड, दमक, इटहरी, धरान, पथरी, उर्लाबारी लगायत सहरमा यसरी नै धुलोमा सुन खोज्नेहरु भेटिन्छन्। अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार अनुसार भारतको मध्यप्रदेशस्थित नागपुरनजिकैको गाउँबाट आएर नेपालमा सुन खोज्नेमध्येकी एकले महिनामा १५ देखि २० हजारसम्म कमाइ हुने बताएकी छिन्।
धुलोबाट सुन निकाल्ने प्रक्रिया भने यस्तो रहेछ- सुन पसल अगाडिको धुलो संकलन गरी लाने, पगाल्ने, सबै डढेपछि फेदमा सुनका कण रहन्छन्। सात दिनसम्मको धुलोबाट ५ ग्रामसम्म सुन भेटिने रहेछ।
भारतमा यसरी सुन खोज्नेहरु धेरै भएपछि त्यहाँ सुन खोज्न गाह्रो भएपछि भारतीयहरु नेपालका सीमावर्ती सहरमा पसेका र त्यहाँबाट काठमाडौँसम्म आइसकेका रहेछन्।