PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

पशुबलि निषेध गर्न माग गर्दै मन्दिरमा धर्ना



पहिलोपोस्ट

काठमाडौँ : अहिंसा प्राणी शाकाहारी समाजले मन्दिरमा पशु बलि निषेध गर्न माग गर्दै आज कामपा, नक्साल, भगवतीबहालस्थित भगवती मन्दिरमा धर्ना दिएको छ। 

सो समाजले गत वर्षदेखि सञ्चालन गरेको बलि निषेध महाचेतना अभियानअन्तर्गत आज त्यस क्षेत्रमा विरोध गरिएको हो। प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बलि चढाइने मन्दिरमा चेतनामूलक कार्यक्रम गरी बलि चढाउन आएका भक्तजनलाई सम्झाइबुझाइ गरी फर्काउने काम समाजले सहयोग गरेको छ।

समाजका अध्यक्ष विकेश श्रेष्ठले मन्दिरमा गरिने पशु हिंसाले सर्वसाधारण मानिसको मनमा चोट पुर्‍याउने भएकाले त्यसमा प्रतिबन्ध लगाइनुपर्नेमा जोड दिए। उनले नेपालमा पशु बलि गर्नेमा देशको कुल जनसङ्ख्याको एक प्रतिशत पनि नरहेको जिकिर गर्दै शान्ति स्थापनाका लागि प्राणी हिंसा बन्द गरिनुपर्नेमा जोड दिए।

विसं २०७२ जेठ १६ गते दक्षिणकालीबाट सुरु भएको सो अभियान निरन्तर सञ्चालन गरिने बताइएको छ। देशभर रहेका बलि चढ्ने करिब एक हजार मन्दिरमा धार्मिक गतिविधि गरी अभियान पुर्‍याइने अभियानकर्मी दुर्गानाथ दाहालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell