PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

नक्कली नोटको आशंकामा कोलकातामा रोकिएका कन्टेनर नेपाल भित्रिए



पहिलोपोस्ट

नक्कली नोटको आशंकामा कोलकातामा रोकिएका कन्टेनर नेपाल भित्रिए

काठमाडौं : नक्कली नोट भित्रिएको आशंकामा चार दिनदेखि ठप्प रहेको कोलकाता बन्दरगाहबाट नेपाली सामान बोकेका कन्टेनरको जाँचपास हुन थालेको छ।

शुक्रबार एक सय कन्टेनर जाँचपास भएर नेपालतर्फ आएका कोलकातास्थित महावाणिज्यदूतावासले जनाएको छ। विदेशबाट ठूलो मात्रामा नक्कली नोट र हतियार आएको आशंकामा भारतले विभिन्न बन्दरगाह सील गरेर छानबिन थालेपछि नेपाल आउने सामान समेत रोकिएका थिए। कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले चार दिनदेखि रोकिएका नेपाली सामान बोकेका कन्टेनर शुक्रबारदेखि जान सुरु भएको बताए।

‘नक्कली नोट आएको आशंकामा कोलकाता बन्दरगाह चार दिनदेखि ठप्प थियो,’ उनले कोलकाताबाट टेलिफोनमा भने, 'नेपाली सामान बोकेका कन्टेनरमा समस्या नभएकोले छोडिदिन औपचारिक आग्रह गरेका थियौ।' विगत चार दिनको अवधिमा कोलकाता बन्दरगाहमा नेपाली सामान बोकेका कन्टेनर थुप्रिएका थिए।

उनले नक्कली नोटलार्इ नेपालले पनि गम्भीर रुपमा लिएको बताउँदै नेपाली भन्सारमा समेत कडा निगरानी राखिने जानकारी भारतीय पक्षलार्इ गराएको बताए। ‘नक्कली नोट रोक्न नेपाली भन्सारमा समेत कडा निगरानी राख्ने आश्वस्त पारे,' उनले भने, 'निरन्तरको कूटनीतिक छलफलपछि भारतीय पक्षले हाम्रा सामान बोकेका कन्टेनर छोड्न राजी भए।'

नेपाल फ्रेट फरवार्ड एशोसिएसनका पूर्वअध्यक्ष राजन शर्माका अनुसार कोलकाता बन्दरगाहमा नेपाली सामान बोकेका कन्टेनर खोलेर समेत भारतीय सुरक्षाकर्मीले हेरेका थिए। उनले नक्कली नोट भित्रिएको आशंकामा नेपाली कन्टेनर समेत खोलेर हेरिएको बताउँदै नेपाली सामान बोकेका कन्टेनर रोकिएको जानकारी दिए।

भारतको राजस्व अनुसन्धान विभाग (डिआरआर्इ) ले चेन्नर्इ, टुग्लाबाद, कानपुर, कोलकोता र मुम्बर्इ बन्दरगाहमा नक्कली नोट आएको आशंकामा सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो। तमिलनाडू र चेन्नर्इको बन्दरगाहलार्इ शिल गरेर कन्टेनरको जाँच गरेको थियो। पाँच दिन अघिदेखि लगातार यी बन्दरगाहमा विभागका विज्ञसहित सुरक्षाकर्मीको टोलीले कन्टेनर खोलेर अनुसन्धान गरिरहेका छन्।

कन्टेनरमार्फत नक्कली भारतीय नोट आएको सूचनासँगै विभागले अनुसन्धान थालेको हो। सुरुवातमा चेन्नर्इ बन्दरगाहमा चार सय करोड नक्कली भारु भेटिएको दाबी गर्दै छिट्टै सार्वजनिक गर्ने भन्सारका अधिकारीले जानकारी दिएको समाचार भारतीय सञ्चारमाध्यमले एक साताअघि समाचार सम्प्रेषित गरेका थिए। तर अहिलेसम्म नक्कली नोट भने भेटिएको छैन।

मुम्बर्इको बन्दरगाहमा एके ४७ राइफल आएको आशंका गरियो तर अहिलेसम्म केही भेटिएको छैन। यो नक्कली नोट चेन्नर्इ, मुम्बर्इ वा टुग्लावाद सुक्खाबन्दरगाहमा आएको आंशकामा तीन वटै बन्दरगाहमा आयात बन्द गरेर छानविन थालिएको थियो। डिआरआर्इको अनुमतिबिना कुनै पनि कन्टेनर चलाउन नपाउने निर्देशन जारी गरेर छानविन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell