PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बोआओमा प्रचण्डको सम्बोधन- 'समृद्धिका लागि द्रुत आर्थिक वृद्धि मेरुदण्ड'



रासस

बोआओमा प्रचण्डको सम्बोधन- 'समृद्धिका लागि द्रुत आर्थिक वृद्धि मेरुदण्ड'

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन्।

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा सम्बोधन गर्दै उनले समृद्ध विश्व निर्माणका लागि एकांकीपन नभई सहभागिता र सम्बन्ध सेतुको विस्तार हुनुपर्नेमा जोड दिए। ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एसियाली दृष्टिकोण’ विषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले समृद्धिको साझा एसियाली लक्ष्य प्राप्तिमा एसियाका नेतामा दूरदृष्टि, विशाल हृदय र साहस रहेकामा आफू विश्वस्त रहेको बताए।

भूमण्डलीकरण र स्वतन्त्र व्यापार विकासको बाहक भएको तथा २१ औं शताब्दी एसियालीको शताब्दी भएको बताउँदै उनले भने, 'भूमण्डलीकरणको एसियाली ढाँचालाई मूर्तरुप दिन हामीले सहयोग र सहकार्यको खाका तयार गर्नुपर्छ, जसले विचार तथा व्यापार सम्पर्कलाई निर्वाध प्रवाहमा टेवा दिने र सबै पक्षलाई समान लाभ हासिल हुनेछ।'

बितेका केही दशकमा भूमण्डलीकरण अन्तर्राट्रिय व्यापारले विकासशील एवम् विकसित मुलुकका जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याएको उल्लेख गर्दै उनले सन् १९९० मा ४७ प्रतिशत रहेको चरम गरिबीलाई १४ प्रतिशतमा झारेको बताए।

प्रधानमन्त्री दाहालले स्वतन्त्र व्यापार र भूमण्डलीकरणको असमानताले विकसित र विकासोन्मुख देशका विभिन्न भागमा आशङ्का सिर्जना गरेको र त्यसले अनिश्चय र निराशा उत्पन्न गरेको उल्लेख गर्दै आर्थिक वृद्धिको आधारभूत तत्व वाणिज्य र व्यापार रहेकोमा जोड दिएका छन्।

नेपालजस्ता अल्पविकसित, भूपरिवेष्टित राष्ट्रका लागि विश्वबजारसम्म भन्साररहित पहुँच विस्तार, व्यापार क्षमता निर्माणका साथै व्यापार सहजीकरणमा विकसित राष्ट्रहरुले सघाउनुपर्ने उनको आग्रह थियो। 'नेपालले धेरै राजनीतिक उपलब्धि हासिल गरी आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ,' उनले भने, 'द्रुत आर्थिक वृद्धि र विकास हाम्रो अहिलेको प्राथमिकता हो।' नेपालमा लगानीका प्रशस्त क्षेत्र र अवसर रहेका तथा तिनले पर्याप्त प्रतिफल दिने बताउँदै उनले जलविद्युत्, पूर्वाधार विकास र पर्यटनजस्ता लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्यमी व्यापारीलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell