PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कथा : डिमान्डको तीर



पहिलोपोस्ट

कथा : डिमान्डको तीर

  • मनिषा गौचन

एउटा मध्यम र सानो परिवारमा जन्मेकी अल्पिना। उनलाई हुर्काउने प्रक्रिया उत्ताउलो भइदियो। कहिल्यै टुटेन बार्बी डल। सिन्ड्रेला। उनले आफैंलाई कहिले बार्बी बनाइन् र कहिले सिन्ड्रेला। अनि विभिन्नथरी सपनाको संसारमा घुमाइन् आफैंलाई। यसमा सहयोगी बनिरहे उनका ड्याडीममी। कुनै आइएनजीओमा जागिरे उनका ड्याडी र घरमै व्यस्त उनकी ममीको रहर थियो— अर्को पनि सन्तान जन्माउने। तर, त्यो रहर पूरा भएन। दुवै स्वस्थ भएर पनि खै किन जन्मेन? यो उनीहरूबीचको व्यक्तिगत कुरा थियो। अर्को सन्तान नजन्मनुले अल्पिनालाई सधैं सानी बच्ची नै बनाइरह्यो। दोस्रो सन्तान हुँदो हो त अल्पिना ठूली हुने थिइन् र भाइ–बहिनीलाई डोर्‍याउने अभ्यास गर्ने थिइन्। यस अभ्यासमा उनी केही परिपक्व हुने थिइन्। आफ्नो धरातललाई बुझ्ने थिइन्। महसुस गर्ने थिइन्। तर, यस्तो हुन सकेन। उनी सानी नै रहिन्।

सानो मान्छेलाई उचालिरहे अल्पिनाका जन्मदाताहरूले। आफ्नो धरातलमा टेकेर कहिल्यै सोच्नुपरेन, दुःख के हो? खर्चिएको बजेटको स्रोत के हो? ड्याडी–ममीलाई पनि छोरीलाई दुःख चिनाउनुपर्छ, मेहनतको कमाइको अर्थ बुझाउनुपर्छ भन्ने हेक्का नै भएन। किनकि, सजिलै आर्जन गरिरहेका थिए जीवन धान्ने स्रोत र साधन। सहरमा पुर्ख्यौली घर थियो। त्यसमाथि आइएनजीओको मासिक तलबले तीन जनाको घरखर्च टरेर पनि बैङ्कमा जम्मा भइरहन्थ्यो। यतिमै खुसी थिए। त्यसमाथि छोरी थिइन्, खुसीको बहार थप्ने। अल्पिना एउटा पुतली नै थिइन्, जसलाई सजिसजाउ गर्नु उनीहरूको सोख हुन्थ्यो।

ड्याडीममी अल्पिनाको अँध्यारो अनुहार देख्न सक्दैनथे। उनको अनुहारमा चमक ल्याउन जे–जस्तो गर्न पनि तयार थिइन् ममी। त्यस्तै ड्याडी पनि। किनकि छोरी खुसी रहँदा यी दुई दम्पत्ती मस्त निदाउन सक्थे। उनीहरूको छाती गर्वले फुल्थ्यो— हाम्री अल्पिना कति खुसी छे।

हो, यसरी नै हुर्कंदै गइन् अल्पिना। उनको आवश्यकताको चुली पनि बढ्दै गयो जसरी उनी आफैं पनि हलक्क बढ्दै थिइन्। छोरी आफूजत्रै अग्ली भइसकिछ भन्ने कुराले ममी एकपटक मजासँग झस्किइन्। अल्पिनाका लागि भन्दै डिपार्टमेन्टल स्टोरबाट श्रीमतीले ‘सेनेटरी प्याड’ ल्याउँदा अल्पिनाका ड्याडी पनि नमिठोसँग झस्किएका थिए। तब लगातार झस्कन थाले दुवै दम्पत्ती, छोरीको हाउभाउले। शारीरिक परिवर्तनसँगै फेरिँदै गएको छोरीको आनीबानीले अनेक खालका डिमान्डका तीरहरू बोक्न थाल्यो। छोरीको डिमान्डको तीर अर्जुनले रुखमा झुन्डिएको डम्मी चरालाई ताकेको तीरजस्तै सोझिन्थ्यो। कुन बेला कुन तीर तेर्सिने हो हेक्का थिएन। महङ्गा रेस्टुराँ, स्वीमिङ पुल, मल, फनपार्क, सिनेमा घर पुग्ने डिमान्डका तीरहरू त प्रायः हप्तेनी तेर्सिन्थे।

विभिन्न डिमान्डको सामना गर्दै आइरहेका अल्पिनाका ड्याडी-ममीलाई जब ‘ट्याब्लेट’ नामक डिमान्डको तीरले लाग्छ, तब त्यो तीरलाई तोड्ने प्रयास गर्छन्—

‘ट्याब्लेट चलाउने उमेर होइन छोरू यो।’

‘बरु भन्स्यो न किन्न सक्दिनँ भनेर, जाबो एउटा छोरीको डिमान्ड पनि पूरा गर्न नसक्ने प्यारेन्ट्स हजुरहरू...!’

पहिलोपटक अल्पिनाको डिमान्डको तीरले ड्याडी–ममीले उनलाई नै गरेको स्नेहको पर्खाल ढलमलियो, मानौं भरखरै ८ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ।

दुवै बरबराए— ‘अरे के पूरा गरेनौं? तिमीले जेजे भन्यौ त्यही किनिदियौँ। तिम्रो कोठामा हेर त... कत्ति डल छन् त्यहाँ? गेमका सिडी हेर...। कार्टुनका सिडी हेर। तिम्रा पुतलीका लुगा हेर...। तिम्रो आफ्नै कपबोर्ड हेर... लुगा कति छन् त्यहाँ? जुत्ता हेर, कति जोडी छन्? तिमी सुत्ने कोठाको सिलिङभरि जूनताराका स्टिकरहरू टाँसेर तिमीलाई राति पनि आकाशमा पुर्‍यायौं। हेर, कति चम्किन्छन्  अझै पनि ती? तिम्रा हरेक इच्छा पूरा गर्‍यौं। मागेजति सबै दियौं। सहरभरिकै महङ्गो त्यत्रो स्कुलमा पढाएका छौं...।’

‘हजुरहरूले राख्सेको स्कुलमा देख्स्या छ? मेरा साथीहरू आफ्नै कारमा आउँछन्। रियसले त कार चलाउन पनि जानिसक्यो। सोभनालाई स्कुटी किन्दिन्छु भन्या छ रे। मैले के मागेँ र? एउटा ट्याबलेट जाबो...’ अल्पिनाको जवाफ थियो।

जब अल्पिनाको ट्याब्लेटरूपी डिमान्ड घरभित्र छिर्‍यो, तब ममीड्याडी दुवैको निद पातलियो क्रमशः क्रमशः पानी थपिएको दूधजसरी। उता अल्पिना आफैं बेचैन थिइन्। न खाना खान रुचाउँथिन्, न हाँस्न–बोल्न नै। सन्तानको अनुहारको उदासीले यी दुई दम्पत्तीको मनमा झन् धेरै उदासी भरिदियो। दुवैलाई हावा हुनहुनिएको खाली ढुङ्ग्रोजस्तै लाग्न थाल्यो मन। एउटी छोरीलाई यसरी कतिन्जेल दुःखी बनाइरहने? दुवैको मनले भन्न थाल्यो। अन्ततः निर्णय गरे— छोरीलाई एउटा ट्याब्लेट किनिदिने।

एउटा सेतो रङको ट्याब्लेट पाइन् उनले। ट्याब्लेट आयो र सँगै भित्रियो खुसी पनि, नयाँ दुलही भित्रिएजस्तै। उनी खुसीले उचालिइन्। आकाशै छूँलाजसरी उफ्रिइन्। ममी–ड्याडीको गालामा म्वाइँ पनि खाइदिइन्।

यसपटक अल्पिनाको खुसीले यो दम्पतीको मनलाई उज्यालो बनाउन सकेन। दुवै चिन्तित देखिन्थे, छोरीको जिद्दीपनालाई लिएर।

ट्याब्लेट चलाउने क्रममै अल्पिनाको पढाइ स्कुलबाट कलेजस्तरमा पुग्यो। उनको डिमान्डले पनि ट्याब्लेटबाट स्कुटीमा फड्को मार्‍यो। स्कुटी चढेर कलेज जाने रहर काकाकुलझैं प्यासी देखियो उनको। त्यसो त अरू साथी आफैं स्कुटी हाँकेर कलेज आएको देख्दा उनलाई ईर्ष्याले सहिनसक्नु हुन्थ्यो।

एक दिन अल्पिनाले ममीसँग स्कुटीको पनि डिमान्ड राखिन्। पैसा नभएको चिन्ताले होइन बरु एउटी छोरी एक्सिडेन्टमा पर्ली भन्ने डरले उनकी आमा स्कुटी लिन तयार भइनन्। उनको ड्याडीले पनि यो डिमान्ड पूरा गर्न नसकिने निर्णय सुनाए। ममी–ड्याडीको निर्णयले अल्पिनालाई हुनसम्म पीडा भयो।

विक्षिप्त मन लिएर अल्पिना घाम डुब्ने बेला घर नजिकको सल्लेरी डाँडामा पुगिन्। एक झोँक्का चिसो बतास उनको केशराशी उडाउँदै बग्यो। क्षणभरमै अलिपरको सल्लेरी हाँगाहरू हल्लिए। रोक्न असम्भव बतासको यो वेग। उनीभित्र पनि छ एउटा चर्को वेग। आकाङ्क्षाको वेग। सपनाको वेग। हुइँहुइँ कुदिरहेका छन्, उनीभित्र उनकै आकाङ्क्षा। उनकै सपना। उनलाई आफ्नै मन व्यस्त सडकभन्दा फरक लाग्दैन आजकाल। विरक्त हुँदै ब्यागबाट ट्याब्लेट निकालिन्। फेसबुक अन गरिन्।

कलेजकी एउटी साथी टुप्लुक्क हाजिर भइन्। हरियो सिग्नल देखियो इनबक्समा। तिनै साथीसँग आफ्नो दुःख बाँडिन्।

उनको कुरा बुझिसकेपछि ती साथीले लेखिन्—

‘आफैं किन्न सक्छेस् नि तँ।’ 

‘त्यत्रो पैसा... आम्मामा...!’

‘त्योभन्दा महँगो चिज छ नि तँसँग, बेचिदे न यार...।’

‘के छ मसँग?’

‘तेरो भर्जिनिटी।’

एक्कासि इन्टरनेट डाउन भयो। उनी घर लागिन्।

——— ——— ———

इनबक्समा आएको ‘भर्जिनिटी’...। अल्पिनाको दिमाग तात्न थाल्यो। जुरुक्क उठिन् र ऐनाअगाडि उभिइन् अर्धनग्न। अर्थ खोज्न थालिन् भर्जिनिटीको। नियालिन् सर्वाङ्ग। तातो सास फ्याँकिन्, झ्याल खोलेर। बाहिरबाट आएको चिसो हावाले उनको शरीरमा काउकुती लगाउन थाल्यो। 

अल्पिनाको दिमागमा ताजै छ, अन्तर्राष्ट्रिय स्तरमा चर्चित हिरोइनले सामाजिक कार्यका लागि आफ्नो भर्जिनिटी बिक्रीमा राखेको घटना। केही समयअघि पत्रिकामा पढेकी थिइन् उनले। तत्क्षण लामो सास फ्याँकिन्।

‘कुमारित्व’को बारेमा उनले पनि धेरथोर जानेकी थिइन्। आफूलाई बिहे गर्ने पुरुषले पहिला कुमारित्व खोज्छ भन्ने कुरा पनि सुनेकी थिइन्। आफैंलाई प्रश्न गरिन्— ‘के हामी पनि उनीहरूको कुमारत्व खोज्छौं?’ ‘अहँ, जरुरी छैन।’ आफ्नै आवाजको प्रतिविम्ब भित्तामा पुगेर आयो र कानमा ठोक्कियो जवाफ। सोचिन्— ‘आफ्नो इच्छा पूरा हुन्छ भने यो जाबो भर्जिनिटी के हो र? हामीलाई लोग्नेमान्छेको कुमारत्वको जरुरी छैन भने उनीहरूलाई हाम्रो कुमारित्वको जरुरी किन? उनीहरूले हाम्रो निम्ति जोगाउँदैनन् भने हामीले जोगाउनैपर्छ र? अल्पिना आफ्नै प्रश्न–उत्तरले उत्तेजित भइन्।

भर्जिनिटी कसैको निम्ति जोगाउनुको कुनै अर्थ छ जस्तो पटक्कै लागेन उनलाई। बरु बिक्री गर्नु अर्थपूर्ण देख्छिन्। उनी पक्का छिन्, उनको भर्जिनिटीको मूल्य एउटा स्कुटीको मूल्यभन्दा कम छैन।

ट्याब्लेट निकालिन्। आकाङ्क्षाको आवेगले उनका औंलाहरू कम्पित हुन्छन्। केही दिनदेखि चलाइरहेको फेक आइडीबाट उनले फेसबुकको वालमै आफ्नो भर्जिनिटी ‘सेल’मा राखिदिइन्। तुरुन्तै एक जनाको गोप्य म्यासेज आयो जोसँग उनको हिजो–अस्तिमात्र हाइहेल्लो सुरु भएको थियो—


‘भोलि कहाँ आऊँ? तपाईंलाई भेट्न। म सक्दो पे गर्न तयार छु...।’ 

‘दिउँसो दुई बजे रेइनो क्याफेको पछिल्लो ग्राउन्डको टेबुलमा आउनुस्। म कालो ड्रेसमा हुनेछु,’ अल्पिनाले जवाफ लेखिन्।

हतारैहतारबीच दुई बज्यो। भर्जिनिटीको बिक्रीमा बसेकी अल्पिना नजिक पुग्ने हतारोमा छन् ग्राहक पुरुष। बाइक पार्किङ गरेर उनी लमक–लमक लम्किए, रेइनो क्याफेको गेटलाई टार्गेट बनाएर। सुरक्षागार्डले गजबसँग सल्युट गरे उनलाई। उनी मक्ख हुँदै अझ अगाडि बढे।

पछिल्लो ग्राउन्डको कुनापट्टिको टेबुलमा ओरेन्ज जुसको गिलास छ। भरखर अल्पिनाले एक चुस्की लिएर छोडेको। उनी पर्खालतिर फर्केर बसिरहेकी छिन्। ती पुरुष कालो वस्त्रधारी अल्पिनाको ठिकपछाडि पुगे।

अगाडि ठिङ्ग उभिन्छ, उनको कालो छायाँ।

अल्पिना आफू सामुन्ने उभिएको त्यो छाँयासँग झस्किँदै पछाडि फर्किन्छिन् र उपस्थित पुरुषलाई नमिठोसँग सम्बोधन गर्छिन्—

‘ड्याडी...!’


समकालीन प्रेमकथाको संग्रह 'पर्फ्युम'बाट। इन्डिगो इन्कको प्रकाशन रहेको २४ लेखकहरुको संयुक्त कथासंग्रह 'पर्फ्युम' आज विमोचन हुँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell