- अनन्तराज न्यौपाने
विराटनगर : लाऊँलाऊँ र खाऊँखाऊँको समय अर्थात् २५ वर्षको यौवन। तर, यो बेला सुधालाई कुनै सुन्दर, शिक्षित र सभ्य युवकसित प्रणयसूत्रमा बाँधिन मन लागेन। बरु मन लाग्यो– आजन्म सेतो पट्टीले मुख छोप्ने अनि सांसारिक माया, मोह, राग, द्वेष र आसक्तिबाट टाढा रहने। अर्थात् जैन साध्वी बनेर आध्यात्मिक चेतना बाँड्दै पैदलमात्र विचरण गर्ने।
पूर्वाञ्चल विश्वविद्यालयबाट एमबिए परीक्षामा सर्वोत्कृष्ट भएर स्वर्ण पदक हासिल गरेकी सुधा सेठिया अहिले ३० वर्षकी भइन्। उनमा वैराग्य चेतना भने पाँच वर्षअगाडि नै जागृत भइसकेको थियो।
‘त्यस बेला मैले एमबिए सकिसकेकी थिएँ’, विराटनगरको व्यापारिक घरानाकी छोरी सेठियाले भनिन्, ‘जैन धर्मका आचार्य श्री रामलालको सानिध्य र उपदेशबाट मैले जीवनको उद्देश्य थाहा पाएँ। हाम्रो जन्म लोक कल्याण र मोक्षका लागि भएको रहेछ। कुरा बुझिसकेपछि सांसारिक जीवनशैलीमा बाँधिन मन भएन। त्यसैले आजीवन जैन साध्वी भएर देशदेशावर घुम्ने सङ्कल्प गरेँ।’
गृहस्थ जीवनलाई आध्यात्मिक बनाउन सकिँदैन र? के सन्यास नै धारण गर्नुपर्छ? के सांसारिक जीवनमा आध्यात्मिक चेतना र व्यवहारको संयोजन गर्न सकिन्न? किन यही उमेरमा यस्तो कठोर निर्णय लिनुभयो?
यस्ता यावत् प्रश्नका उत्तर उनीसँग छन्। उनले सहजता र निडरताका साथ यिनको जवाफ दिइन्।
‘घर गृहस्थमा बसेर पूर्ण आध्यात्मिक साधना हुन सक्तैन’, दृढताका साथ उनले भनिन्, ‘मैले यो पन्थ नअपनाएको भए मेरो यति बेला बिहा भइसक्ने थियो। त्यसपछि केके हुन्थ्यो तपाईंहरू बुझिहाल्नु हुन्छ। एउटा बालकलाई घरैमा पढाए पनि हुन्थ्यो नि, किन विद्यालय पठाएको? वातावरणका लागि न हो। मैले पनि आत्मकल्याणको वातावरणका लागि यो मार्ग रोजेँ।’
उनी आगामी वैशाख १७ गते भारतको सुरतमा आचार्य रामलालसित दीक्षित हुँदैछिन्। यसपछि उनी पूर्ण साध्वीका भेषमा हुनेछिन् र जहाँ गए पनि पैदलमात्र हिँड्ने छिन्।
छोरी साध्वी हुने निर्णय आमा मगनदेवीलाई कस्तो लाग्यो त?
मगनदेवी भन्छिन्, ‘आफ्नी छोरी जन्मघर छाडेर साध्वी बन्दैछिन् भन्दा मनमा दुःख त भइहाल्छ नि, तर गौरव पनि लाग्दो रहेछ।’