PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

उत्तरआधुनिक समावेशी पार्क : रत्नपार्क



पहिलोपोस्ट

  • राजेन्द्र तारकिणी 

दशैँको पूर्वसन्ध्यामा रत्नपार्क चोकको आकाशे पुलमा उभिएर राजधानीको साँघुरो आकाश हेर्छु। आकाशभरि चिडियाभन्दा चङ्गा बेसी उडेका देखिन्छन्। यो आतङ्कित समयमा चराहरूको निर्बिघ्न संसारमा पनि मानवनिर्मित चङ्गाले नराम्रोसँग आतङ्क मच्चाइदिएको भान हुन्छ। मानूँ ती चङ्गा होइनन्, कुनै अघोषित आतङ्ककारीको खोजीमा उडेका मानवरहीत बमबर्षक विमान हुन्। र, आतङ्क निर्मूलनको नाममा तिनले प्रतिआतङ्क मच्चाइरहेका छन्।

उत्तरआधुनिक युगको भार थेग्न नसकेको धर्तीभरि हेर्छु। उसैगरी मानव र उसका उत्तरआधुनिक क्रियाकलापले अस्तव्यस्त र सन्त्रस्त परिवेश कहालिएर भाग्न खाजेको भान हुन्छ। सिङ्गो टुँडीखेललाई बिट मारेर घुमिरहेको कालो सडकभरि मानवका उत्तरआधुनिक बाहनहरू बेपरबाह ढङ्गले आआफ्नै गन्तव्यतिर भागिरहेका छन्। उत्सव, जन्मोत्सव र महोत्सवका खातिर रङ्गीन गुच्छा र निर्दोष फूलहरू अकालमा चुँडिएर ती बाहनभित्र गुडिरहेका छन्। हुन सक्छ, समग्र जीवन र खुसी खोसिएका तिनै गुच्छा र फूलहरू कसैले आँखाभरि बनावटी संवेदना बोकेर कसैको अनपेक्षित लासमा श्रद्धाञ्जलीका खातिर बोकिरहेको छ।

छेवैमा खिस्स परेको रत्नपार्क नहेरी सुखै छैन। जति हेरे पनि पढ्न नसकिने, जति छामछुम गरे पनि बुझ्न नसकिने पार्क हो भन्ने थाहा पाएर पनि कैयौँ पटक मैले यहाँको धुलो मिचेको छु। नचाहँदा नचाहँदै स्वाससँगै धुलो निलेको छु। तैपनि यो पार्कको पूरा स्वाद मलाई थाहा छैन।

कैयौँ पटक कैयौँ मानिसले चाहेर÷नचाहेर यो पार्कको परिक्रमा या भनुँ प्रदक्षिणा गरेका छन्। कैयौँ मान्छेले कैयौँ पटक पान–पराग चपाएर यहाँ थुकेका छन् या भनुँ देशको सरकारलाई थुकेका छन्। कैयौँ पटक कैयौँ मान्छेले सिंहदरबार अगाडिको यो पार्कमा लाजै नमानी मुतेका पनि छन्। कैयौँ पटक यही पार्कमा मान्छेकै एउटा तप्का सुतेको छ, अर्को तप्का यतैबाट धुलोझैँ उठेर आकाशका तारा झार्लाझैँ गरी बुलन्द आवाज घन्काएको छ। कैयौँ पटक कैयौँ मानिसले यही पार्कमा नेताज्यूका बोलीकमलबाट निस्कने गुलियो स्वाद लिईलिई चाटेका छन्। कैयौँ पटक तिनै मानिसले तिनै नेतालाई लाजमर्दो गरी गाली गरेका पनि छन्। 

यो पार्क राजधानीकै मुटु मानिने न्यूरोडको नजिकै पर्छ। उता देशकै आत्मा मानिएको सिंहदरबारबाट पनि नजिकै छ। इतिहाससँगै आफ्नो अस्तित्व हराएको बागदरबारबाट पनि टाढा छैन। उता कैयौँ थरी झण्डादेखि लिएर कैयौँ ठूलाबडाका लास गुडेर बारम्बार ठप्प पारिने बागबजारबाट पनि टाढा छैन। अनि पिठ्यूँसँग पिठ्यूँ जोडेर घोडेजात्रा र गणतन्त्र दिवसमा परेड खेल्ने सैनिकमञ्चभन्दा टाढा हुने कुरै आउँदैन।

हिउँद लाग्नुअघि नै चिसोले मुटु काटिसक्छ यहाँ। यिनै दिनहरूमा बागबजारका चिसा छ्रिँडी छल्दै उदाएको घाम सुनसान उभिएको ट्रमा सेन्टरको छतमाथिबाट अस्ताउँछ। यस पार्कलाई भने घाम उदाए पनि सुख छैन, अस्ताए पनि छैन। घाउ चह¥याइरहेका आर्तदेखि लिएर भिरिङ्गी कन्य(ाइरहेका फिरिङ्गीसम्मकाले कैयौँ रात अबेरसम्म यस पार्कलाई डिस्टर्ब गरिरहेका हुन्छन्। दिउँसोको त के कुरा गर्नु, लट्ठीबाहकदेखि लिएर पजेरोबाहकसम्मले यो पार्कलाई धुलीखेल नबनाएको दिनै छैन। मान्छेका क्रियाकलापले दिनहुँ भइरहने सयौँ थरी हल्ला (टेन्सन ?) सहन नसकेर यो पार्कले कैयौँ दिन आत्महत्याको असफल प्रयास नगरेको होओइन। आफै पनि बुढिँदै गएर थला पर्न लागेको वीर अस्पतालले यस पार्कको घाउ कहिल्यै निको पार्न सकेन।

अचेल यो पार्कमा अचाक्ली नै भीड लाग्छ। उसो त न्यूरोडका गल्लीगल्लीहरूमा पनि खुट्टा छिराइनसक्नु हुन्छ। भूकम्पको आदेश पर्खेर धराप बनी उभिरहेका दशौँ तलाका भवनहरूले कतिबेलै यही गल्लीमा मान्छेको खिचडी बनाउने हुन्, थाहा छैन। यो थाहा न युगौँयुगको साक्षी बसिरहेको घण्टाघरलाई छ, न त बीसौँ तलाका भवनहरूद्वारा उचाइ खोसिएको धरहरालाई। तैपनि मान्छेलाई आफू खिचडी बन्ला भन्ने डर रत्ति छैन। र त ऊ जिन्दगी बाँच्न चाहन्छ रमाएर। यसरी निश्चिन्त रमाउने सिजन दशैँ–तिहारमा त यहाँ मान्छेको भीड झनै तात्छ। उम्लिएर छताछुल्ल बनिदिन्छ। पुषमाघको ठण्डीमा ढाड सेकाउन पुनः त्यही भीड बौरिएर उठ्छ रत्नपार्कको छातीभरि।

पार्क हुन नसकेको पार्क हो– रत्नपार्क। मान्छे हुन नसकेका मान्छेहरू सबभन्दा बढी यही पार्क वरिपरि भेट्टिन्छन्। तिनै उत्तरआधुनिक जगत्मा मान्छे हुन नसकेका÷नजानेका अमान्छेहरूले नै सबभन्दा बढी यस पार्कलाई अपार्क बनाइरहेका छन्। आफ्नो स्वार्थका लागि भूमिलाई (अरूलाई) नाङ्गेझार पार्नु मान्छेको नियत भएको छ।

गणतान्त्रिक हुन नसकेको गणतन्त्र नेपालको सबैभन्दा समावेशी पार्क हो– रत्नपार्क। पूर्व मेचीदेखि पश्चिम महाकाली र दशगजादेखि हिमालपारिसम्मका मान्छे÷अमान्छेहरू यहाँ भेटिन्छन्। लिम्पियादेखि केचना र कंचनपुरदेखि कंचनजंघासम्मको क्रसभेट यहाँ हुन्छ। यो पार्कलाई जातभात, धनीगरिब, उँचनीच, टाढानजिक, नरनारी, अपाङ्गसपाङ्ग, मधेसीमुस्लिम, दलितगलित, शासकशासित आदि विभेदको कुनै मतलब छैन। किनभने यो पार्क आफूलाई उत्तरआधुनिक समावेशीताको उच्चतम नमूना भनाउन चाहन्छ। एक धरो लाउन नपाएर एक सरो प्राण कुरिरहेकाहरू (समाजको नजरमा नर्कका कीरा) देखि लिएर सुटबूट र पजेरोमा सुखको मैदानतिर दगुरिरहेकाहरू (समाजको नजरमा स्वर्गका हीरा) सम्मलाई यो पार्कमा आउन कसैले रोक्न सक्दैन, कुनै नीति–विधानले छेक्दैन।

सस्ता वस्तुदेखि सस्ता मान्छेसम्मको व्यापारिक केन्द्र हो– रत्नपार्क। यहाँ कुनै नेताज्यूले कुनै मूल्यबिनाका जनता सजिलै उपभोग गर्न पाउँछ। राजनीतिले मदोन्मत्त भएको नेताज्यू नाङ्गो मञ्च या भनँु खुल्ला मञ्चमा आफू नाङ्गिन कुनै सङ्कोच मान्दैन। उसको यस्तो साहसिक नङ्ग्याइ हेर्दा हेर्दै अभ्यस्त भइसकेका दीनहीन जनता र जुझारु कार्यकर्ता कत्ति पनि लाज मान्दैनन्। चारचार स्वास्नीले पनि तृप्त हुन नसकेका हँुडारहरू सस्ती वेश्या खोज्नुप¥यो भने दिनदहाडै वा रातविरातै यो पार्कको चक्कर लगाउन भुल्दैनन्। तर सस्ती छोडेर महङ्गीसँग मस्ती गर्न चाहनेका लागि यो पार्क दुर्भाग्य हुनेछ। त्यसका लागि त पाँचतारे होटेल र ठुल्ठूला डान्सबारहरू खुलिसकेका छन्। सस्ता जुत्ताचप्पल, सय ठाउँ च्यातच्युत गरिएका पाइन्टहरू र अन्य सेकेन्डह्याण्ड, थर्डह्याण्डका थरीथरीका वस्तुहरू सौदा गर्न पल्केका थरीथरीका मान्छेहरू दिनहुँ यही पार्कको छाती कुल्चिरहेका हुन्छन्। यसरी कसैको छाती मिच्न र कुल्चनका लागि संविधान लेख्न नसकेको नेपालको अन्तरिम संविधानले सुविधा दिएको छ।

लाग्छ, आजको यो दुनियाँमा मान्छेको जीवन रत्नपार्कमा बेच्न राखिएका सस्ता वस्तुभन्दा पनि सस्तो हुँदै गइरहेको छ। कालो जुत्ताजस्तो यो जिन्दगी सेकेण्डह्याण्ड, थर्डह्याण्ड केके बनेर पनि बिक्न छोडेको छैन। तैपनि अझसम्म मेरो कालो जुत्तासँग प्रेम छ।

जादू देखाउनेदेखि लिएर लादु हल्लाउँदै हिँड्नेहरूको भीड यहाँ देखिन्छ। बङ्गाली एसोसिएसनहरूको दुर्गापूजादेखि लिएर तिरुपाती विवाहसम्मको दर्शन यहाँ गर्न सकिन्छ। प्रेमहारादेखि लिएर प्रेममारा, बगलीमारा र ज्यानमारासम्म यही पाइन्छन्। धर्मढोँगीदेखि लिएर सर्वस्व त्यागेर वनबास हिँडेका जोगीहरू अचानक यहाँ भेटिन सक्छन्। सुन्दरीमा सुन्दरी र कुरूपमा कुरूपसम्मका यहाँ देखिन्छन्। रविभन्दा पनि पर पुग्ने कविहरू यहाँ नभेटिने कुरै भएन। सजीवदेखि निर्जीव–जिपसम्मको पार्क बनेको छ यो। नुगेका, झुकेका, सुकेका बोटाबोटीदेखि लिएर कुहेर लेउ जमेका पोखरीहरू यहाँ पाइन्छन्। भनेपछि यो पार्कमा नपाइने चीज केही छ?

यो पार्क वास्तवमै जादूमय छ, किनभने यहाँ विविधखाले जादूहरू देख्न पाइन्छ। हिँड्दाहिँड्दै अचानक नसोचेको पात्र भेट्टिइदिन्छ। निर्बन्ध, निर्लज्ज, निर्धक्क सम्भोगरत कात्र्तिकका कुकुरहरूले देखाउने लाज नजिकै मञ्चमा पूर्वघोषित वा अघोषित सभामा तालीका पर्रासँगै बोलीका खर्रा उफार्ने नेताज्यूले विस्थापन गरिदिएको देख्दा झन् आश्चर्य मान्नुपर्ने छ्रैन।

हातमा एकतारे, मादल, खैँजडी आदि केके मर्न नजानेका बाजाहरूसँगै तीतो जिन्दगीको टर्रो गीत गुन्जाइरहेका बिचराहरूको मागिखाने (गरीखाने ?) थलो कुनै छ भने सम्झनुस् त्यो रत्नपार्क नै हुन सक्छ। ‘ताजा खबर...’ भन्दै पत्रिकाको खात बोकेर कराउँदै आएको मान्छे कैयौँका आँखामा हेरेर मन पढ्दा पढ्दै नजरबाट हराएको थाहा हुँदैन। हातमा ‘चिसो पानी’ भन्दै तातीसकेको पानीको बोत्तल झुण्ड्याएर मान्छेका मनमनसम्म पुग्दै फर्किँदै बदाम बेचेर बारम्बार ओहोरदोहोर गरिरहेकी किशोरी÷युवती÷अधबैँसेलाई देख्दा झन् हेरिरहूँ लाग्न सक्छ। घुरमैलोयुक्त चहुरभरि प्याट्ट बदाम फोड्दै कोही समूहमा गफ चपाइरहेका, कोही एक्लाएक्लै विचार या भनूँ शोक, चिन्तन केके चपाइरहेका देख्दा नौलो लाग्ने छैन।

बास्नादार मासुसँगै रत्नपार्कको अलिकति धुलो र घुरमैलो (मसला ?) पनि पकाएर बेचिरहेकी काली–मोटी युवतीहरू, मासु बेच्दाबेच्दै आफ्नै मासु पनि बेच्न लायकको भइसकेको पत्तो नपाइरहेका देखिन्छन्। वरिपरि गफसँगै मासु–चिउरा चपाइरहेका अल्लारेहरू देख्दा लाग्छ, तिनले कहिल्यै आफ्नो जिन्दगी यसरी स्वाद लिईलिई चपाउन सकेका थिएनन्। पशुपतिका पण्डा पनि यहाँ आइपुगे भने महिष (महिषासुर ?) पाकेको मासुको मीठो बास्ना नलिई फर्कनै पाउँदैनन्।

मान्छे कति सानोसानो उद्देश्यमा पनि कसरी झुण्डिएर बाँच्दो रहेछ। हजार पीडाको भारीले थिचिएर पनि जिन्दगी कसरी हाँस्दो रहेछ। जिन्दगीको आँगनभरि घरी दुःख, घरी सुख, यता दुःख, उता सुख कसरी विचत्रसाथ नाच्दो रहेछ। मलाई एकनाश टोलाएर सोचिरहन मन लाग्छ।

धूपीका झाङमुनि जाल थापेर ढुकिरहेका उत्ताउलीहरू झिङ्गा पर्दैमा सन्तुष्ट नहुँदा रैछन्। आफ्नो जालमा भगेँरालाई समेत अल्झाएरै छोड्दा रैछन्। ती निर्बिघ्न संसारकी उत्ताउली को हुन् ? वरिपरि तमाशा बनेर उभिरहेको बहुरूपी पुरुषको शिकारी नजरले शङ्काको बाण प्रहार गर्छ र फररर एक लहर हाँसो खेलाइदिन्छ। तीर छोड्नमा पारङ्गत भइसकेको त्यो सिकारी हुल आजकाल यहाँ जति पनि नौली युवतीहरूलाई उत्ताउली देख्छ।

पुलबाट पार्कको अर्धहरियो चहुरभरि हेरिरहेथँे। बदाम बेच्दा बेच्दै आफ्नै अस्मिता बेच्न पुगेकी युवती एकदिन झल्याँस्स आफूलाई कुमारीआमा बनेको पाउँछे। शरीरमा अर्धनग्नखाले लुगा छन्, लाज भने ढाकेकी छे। लाज ढाकेकीले राम्री छे। लाजै नढाक्नेलाई कसरी राम्री भन्नु ? राम्री हुनलाई नाङ्गिनैपर्ने रहेनछ। हल्का लाली दलेकी छे, अनि हल्का नाङ्गीन खोजेकी जस्ती। मैले अनुमान लगाएँ, उसको बैँस अझैँ तृप्तीको चरमोत्कर्षतिर लम्कँदै छ। नजिकै क्वाँटी बेचिरहेको मधेसी केटासँग ऊ पाँच रूपियाँको क्वाटी माग्छे।

रत्नपार्कको पुलमै एउटा अचम्मकी दिदी भन्न लायककी केटी भेटिइन्। मुस्किलले एक हात जति हुँदो हो उनको समस्त उचाइ। खुम्चिएर पुट्ठामा बसेका खुट्टाले उनी पेन्गुइन हिँडेजस्तो विस्तारै हिँडेर आइन्। पुलको डिलबाट रत्नपार्कतिर हेरेर उमङ्गसाथ संसारै देखेजस्तो गरी कराइन्। दुबै हात पनि बाङ्गिएका, तैपनि हातभरि थोत्रा–मैला चुरा छन्। उनको नाम गीता, उमेर सत्तर वर्ष, घर स्याङ्जा। नेत्रहीन दाइसँगै गीत गाएर यो संसारमा (पुलमा) बाँच्न भनेर आएका रे ! मैले उनको फोटो खिच्दा खिसिक्क हाँसिन्। नेपालको संविधानले समावेशी बन्न दशैँको छुटजस्तो छुट दिएका थरीथरीका मान्छेहरू एउटै पुलमा जम्मा भएर उनलाई हेर्न थाले, घेर्न थाले। कस्तो विचित्रको छ यो संसार, कति जादूमय अचम्म लाग्ने खालको छ यो पार्क !

उत्तरतिर फर्केको ओडारजस्तो एउटा खुला मञ्च हेर्छु। खुला मञ्च हुनाले नै त्यसलाई सहिद मञ्च भनिन्छ। सहिद मञ्च हुनाले नै त्यो सबैको मञ्च हो। किनभने सहिद आफ्ना लागि भनेर सहिद बनेका होइनन्, अरू सबैको मुक्तिका लागि हुन्। म सोच्न थाल्छु, सन्तानब्बे सालदेखिका हजारौँ सहिदका आत्माहरू दिनहुँ यहाँ घुमिरहेका हुँदा हुन्। अनि कैयौँ सहिद दिवसहरूमा नेताहरूले खाएका वाचा–कसम–भाषण सुनिरहँदा हुन्। तिनको व्यवहार, देश र जनताको हालत एकएक गरी नियालिरहँदा हुन्। अनि सम्झिँदा हुन्– आफू सहिद बन्न हिँडेको त्यो क्षण। र, आज यही सहिदमञ्च वरिपरि भौतारिँदै भन्दा हुन्– ‘हत्तेरी ! कस्तो फन्दामा परिएछ ! हामी झुक्किएर सहिद बनेका रहेछौँ। हाम्रो रगत् अझै देश र दुनियाँको मुक्तिका लागि बगेको रहेनछ, रहेछ त केवल धूर्तहरूको रङ्गीन स्वार्थ र मस्तीका लागि।’ अनि विरहमा परेका आफन्तजनझैँ भाग्य धिक्कारेर पश्चात्ताप गरिरहेका हुँदा हुन्।


सोच्दा सोच्दै मलाई भित्र कतै दुखेर आउँछ।


अन्तमा मलाई के लाग्यो भने यो पार्क न त सहिदहरूको हुन सक्यो, न त रत्नराज्यलक्ष्मी देवी शाहको नै रह्यो। बरु उत्तरआधुनिक जगत्मा समावेशीता खोज्दा खोज्दै त्यही भीडमा हराएका र उन्नतिको सिँढी चढ्दा चढ्दै बारम्बार चिप्लिएको देशका बासिन्दा सबैको भइदिएछ। त्यसैले यसो भन्न मन लाग्यो— यो पार्क सबैसबैका बाउको हो, किनभने यो उत्तरआधुनिक समावेशीताको उच्चतम नमूना हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell