PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयासमा सरकार



पहिलोपोस्ट

काठमाडौँ : स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले देशका हरेक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयास गरिरहेको बताएका छन्।

रत्नश्री महिला समूहले आज काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण’ सम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रममा उनले भने— 'देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील छ।'

स्वास्थ्यमन्त्री थापाले पाठेघरको मुखको अर्बुदरोगको परीक्षण ७५ वटै जिल्लामा निःशुल्क गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार लागिपरेको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका १३ स्थानमा जनस्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना भइरहेको जानकारी दिए।

'राजधानीका केही स्थानमा त्यस्ता केन्द्र स्थापना भइसकेका छन्, अन्य ठाउँमा पनि शीघ्र स्थापना हुनेछन्' उनले भने– ‘सहरी क्षेत्रका सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने सरकारी नीति कार्यान्वयन आइसकेको छ।’

मन्त्री थापाले एउटा कार्यक्रमबाट मात्र महिला सशक्तीकरण नहुने बताउँदै यसका लागि महिला स्वयम् जागरुक हुनुपर्नेमा जोड दिए।

समूहकी अध्यक्ष नीता सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा समूहकी सल्लाहकार विष्णुदेवी पुडासैनी, सचिव इन्दिरा भण्डारी, सदस्य जमिला पोखरेल र समाजसेवी नरोत्तम वैद्यले महिला सशक्तीकरण भाषणमा नभई व्यवहारमा अनुवाद गर्न हरेक घरका पुरुषले महिलालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell