PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

'पर्फ्युम' सार्वजनिक गर्दै प्रेम-बहसमा उत्रिए लेखक



पहिलोपोस्ट

'पर्फ्युम' सार्वजनिक गर्दै प्रेम-बहसमा उत्रिए लेखक

काठमाडौं : 'कथा सेलेक्सन गरेर प्रकाशन गर्दासम्म सम्पादकले पाउने जस/अपजस कस्तो हुँदो रहेछ?' नाट्यकर्मी घिमिरे युवराजले प्रश्न तेर्स्याए समीक्षक एवं पत्रकार राजकुमार बानियाँलाई।

'पुस्तक छापेर आइसकेपछि मात्रै जजमेन्ट हुने रहेछ,' उनले जवाफ दिए, 'कतिपय ठाउँमा हामीले मित्रलाभ पनि गरेका हौंला, तर धेरै कथाहरुबाट छानेर २४ वटामा ल्याउनु र फरकफरक टेस्ट दिनु हामीलाई चुनौती नै थियो।'

बानियाँ र दीपक सापकोटाको सम्पादनमा प्रकाशित समकालीन प्रेमकथाको संग्रह 'पर्फ्युम'को विमोचन कार्यक्रम अन्तर्गत 'प्रेम-बहस' सहजीकरण गरिरहेका थिए युवराज। सीमित समयमै उनले बहसकर्तामाझ प्रेमको शाश्वत पक्ष, मूल्य मान्यता र परिभाषाका विविध आयामबारे सोध्न भ्याए।

प्रेमको आयामबारे चर्चा गर्दै लेखक नारायण ढकालले पूर्वीय र पाश्चात्य सभ्यतामा प्रेमको परिभाषालाई पनि अलग तरिकाले हेर्ने गरिएको धारणा राखे। 'मेरो पालामा प्रेम गर्नु अपराध जस्तै हुन्थ्यो,' उनले भने, 'अहिले त्यस्तो बारबन्देज छैन। बरु प्रेमका लागि बढी स्पेस त महिलाहरुले पाएका छन्।'

ढकालले मतमा समर्थन जनाउँदै अर्की बहसकर्ता प्रगति राईले महिलाले प्रेम गर्नका लागि स्पेस बढी पाए पनि समाज र संस्कृतिअनुसार त्यसमा भिन्नता पाइने बताइन्। मुन्धुम संस्कृतिमा महिलाहरु नै घरव्यवहारमा अगुवा हुने र उनीहरुलाई प्रेमव्यवहार प्रदर्शन गर्न कठिन नहुने उनको भनाइ थियो। 'तर अहिले प्रेम हराउँदै गएको महसुस गरेको छु,' उनले पुस्तकको प्रसंग कोट्याउँदै भनिन्, 'समाजमा प्रेमको परिभाषा अन्योलमा परेको बेला पर्फ्युमले विविध आयामलाई समेटेर प्रेममाथि बहस गर्ने ठाउँ बनाइदिएको छ। यसभित्रका कथाहरुले यो समयमा प्रेमलाई कसरी हेर्न सकिन्छ भनेर मन्थन गर्ने ठाउँ छाडिदिएको छ।'

अर्का बहसकर्ता संगीत श्रोताले भने समाजलाई सकारात्मक दिशा दिनका लागि कुनै जोडीले काम गर्‍यो भने त्यहाँ प्रेमको सच्चाइ भेटिने टिप्पणी गरे। युवायुवतीको आकर्षण र प्रेमालापलाई लिएर कथा लेखिनु मात्र प्रेमकथा नभएको भन्दै उनले थपे, 'शरीर आकर्षण मात्र लेखियो भने त त्यो यौन कथा हुन्छ। समाजलाई चुनौती दिने खालको काम कुनै प्रेमजोडीले गरेका छन् भने तिनको आदर्श प्रेमलाई पनि कथामा ल्याउन सकिन्छ।'

सम्पादक सापकोटाले 'पाण्डुलिपि मासिक'को प्रेम महाविशेषांकका लागि मागिएका र नयाँ समेत गरेर पुस्तकाकार रुपमा यो संग्रह आएको जानकारी गराए। 'पाण्डुलिपि प्रकाशन बन्द भएपछि संकलित प्रेमकथाहरु थन्किएका थिए,' उनले भने, 'नयाँ पुस्ताका सक्रिय लेखकहरु समेत समेटर छनोट गरी उत्कृष्ट कथाहरु प्रकशनमा ल्याएका हौं।'

बहसअघि पुस्तकको विमोचन गरिएको थियो। लेखकहरु ढकाल, राई, संगीत श्रोता, सम्पादकद्वयका साथै पुस्तकमा समाविष्ट कथाका कथाकार पनि संयुक्त विमोचनमा उपस्थित भए।


समकालीन लेखनमा सक्रिय अमर न्यौपाने, अश्विनी कोइराला, अभय श्रेष्ठ, कुमार नगरकोटी, मनिषा गौचन, नवीन विभास, नयनराज पाण्डे, निरुपा प्रसून, श्याम साह, सुबिन भट्टराई, उमा सुवेदी, ऋचा भट्टराईका कथा पर्फ्युमा समावेश छन्। साथै अशोक सिलवाल, बच्चु विक, विमल आचार्य, विनोदविक्रम केसी, दिनमान गुर्मछान, रिविन, राजु स्याङ्तान, गणेशकुमार राई, लेनिन बञ्जाडे, मनोज दाहाल, मुनाराज शेर्मा र योगेश ढकालका कथा पनि पुस्तकभित्र पढ्न पाइन्छ।

इन्डिगो इन्क प्रकाशनले पुस्तकलाई बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell