- शेरबहादुर सिंह
पुनर्वास : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताएका छन्।
सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गरेका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखण्डता सरकारको पहिलो प्राथमिकता भएको बताए।
आन्तरिक रुपमा राजनीतिक दलबीच फरक मत रहे पनि राष्ट्रियता, सीमा संरक्षण, भौगोलिक अखण्डताका विषयमा सबै एकै ठाउँमा रहेका गृहमन्त्री निधिको भनाइ थियो। आनन्द बजारमा भएको घटनामा भारतीय सुरक्षाकर्मीकै गोली लागेर गौतमको निधन भएका विषयमा आफूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग प्रमुख मुद्दा बनाएर विषय उठान गरेको उनले बताए।
'मैले भारतीय प्रधानमन्त्रीलगायत सबै अधिकारीसँग तपाईकै सुरक्षाकर्मीको गोलीबाट गौतमको निधन भएको प्रतिवेदन पेस गरेको छु'– गृहमन्त्री निधिले भने, 'भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।'
आनन्द बजार क्षेत्रको नेपाल–भारत सीमा छुट्याउने २०० नम्बर सीमास्तम्भ सयौँ वर्षदेखि नरहेको बताउँदै उनले सीमाङ्कनका विषयमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले स्थलगत अनुगमन गरी सीमा समस्या समाधान गर्ने विषय अघि बढेको बताए।
'पुरानो सम्बन्ध छ भन्दैमा आफ्नो दोष लुकाएर अर्कालाई दोषी बनाउन पाइँदैन'– निधिले भने, 'राष्ट्रियता, सार्वभौमिकताका लागि कसैसित सम्झौता गरिन्न, ‘तपाईहरुले गरेको दाबी नै प्रमाणित हुनेमा म विश्वस्त छु।' उनले भने, 'स्थलगत सर्वेपछि सीमाको विवाद टुङ्ग्याउने विषयमा भारतले पनि सहमति जनाएको छ।'
घटनालगत्तै सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै घटनाको तत्काल विरोध गरेको बताउँदै मन्त्री निधिले सहिद परिवारलाई रोजगारी दिने विषयमा पनि सरकारले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिए। नेपाल–भारतको संयुक्त रुपमा गठन भएका तीनवटा सर्वे टोलीले सुस्ता र कालापानीबाहेक सबै नापचाँजमा सम्पूर्ण सर्वे गरिसकेको र धरातलमा छुट्याउन भने बाँकी रहेको उनले बताए।
कार्यक्रममा गृहमन्त्री निधिले सरकारले घोषणा गरेको राहत रकम रु १० लाखको चेक हस्तान्तरण गर्नुका साथै सहिद गौतमका श्रीमती लक्ष्मी, बुबा खेमलाल र आमा हरिदेवीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गरे। रासस