PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

कांग्रेस केन्द्रीय समिति आजदेखि : केन्द्रीय कार्यसम्पादन समिति गठन हुँदै



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति आजदेखि : केन्द्रीय कार्यसम्पादन समिति गठन हुँदै

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनको एक वर्षपछि केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न लागेको छ। सभापति शेरबहादुर देउवाले महाधिवेशनको एक वर्ष १० दिनपछि आज बस्ने लागेको चौथो केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठनको प्रस्ताव लैजान लागेका हुन्।

कांग्रेसको विधानमा केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारी मनोनयन सभापतिको अधिकार भए पनि त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्ने प्रावधान छ। 

त्यसबाहेक कांग्रेसको विधानले दुई महिना भित्र गर्ने भनेर तोकेको विभाग तथा समितिहरु गठन र पदाधिकारी मनोनयन एक वर्षसम्म पनि सभापति देउवाले गर्न सकेका छैनन्। आजको बैठकमा विभागहरुको संख्या निक्र्यौल गर्ने कार्यसूची रहे पनि विभाग गठनको प्रस्ताव ल्याउने भने अजेण्डामा सामेल छैन। 

नेपाली कांग्रेसको विधानमा २८ वटा विभाग उल्लेख गरिएपनि अघिल्लो महाधिवेशनपछि तात्कालीन सभापति सुशील कोइरालाले ४२ वटा विभाग गठन गरेका थिए। तर ती विभाग वर्तमान सभापति देउवा पक्षले केन्द्रीय समिति बैठक नै बहिस्कार गरेका कारण कार्यान्वयनमा भने आउन सकेका थिएनन्। 

‘आजको बैठकको अजेण्डामा विभागको संख्या निक्र्यौल गर्ने कार्यसूची पनि छ’, मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘विधानमा २८ वटा छ, विगतमा ४२ वटा बनेका थिए आजको बैठकले अब कति हुने भन्ने पनि टुंगो लगाउनेछ।’ 


स्थानीय तह निर्वाचन विशेष

त्यसबाहेक कांग्रेसको आजको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावको तयारी विषयमा नै केन्द्रीत हुनेछ। ‘स्थानीय तहको संख्याका आधारमा पार्टीको स्थानीय संरचना निर्माण गर्ने, चुनावमा उम्मेद्वार कस्ता बनाउनेलगायतका विषय बैठकको एजेण्डामा छन्’ मुख्य सचिव पौडेलले भने। 

यसअघि १० गतेका लागि बैठक डाकिए पनि सभापति देउवाले १३ गतेका लागि भन्दै आजका लागि सारेका थिए। 


पौडेल पक्षको विरोध रहने

सभापति देउवाले एक वर्षमा केन्द्रीय कार्यसम्पादन समिति मात्र गठनको प्रस्ताव ल्याएको भन्दै वरिष्ठ नेता पौडेल पक्षले भने विरोध गर्ने भएको छ। उसले संगठन चुस्त दुरुस्तरुपमा चल्न नसकेका,े विधानको कार्यान्वयन हुन नसकेको र पार्टीलाई सामूहिक नेतृत्वमा नलगेर विधानको भावनाविपरित व्यक्ति केन्द्रीत बनाएको भन्दै विरोध गर्न लागेको हो। 

‘पार्टीका आन्तरिक विषय मात्र नभएर राष्ट्रिय राजनीतिका विषयमा पनि धेरै समयदेखि छलफल हुन पाएको छैन त्यसैले आजको बैठकमा धेरै विषयहरु उठ्ने छन्’, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, ‘पार्टी संरचनाको विषय व्यवहारिक प्रश्नहरु उठिसकेका छन् चुस्त संगठन भएन राष्ट्रिय राजनीतिमा प्रभाव हुनुपर्ने झै भएन भन्ने कुरा स्थापित भएको छ त्यो कुरा स्वभाविक रुपमा उठ्ने नै छ।’

उनले विधानको परिपालना र संगठन सुदृढीकरणका विषयमा सभापतिले नै केही विषय लिएर आउने अपेक्षा रहेको बताए। 

गत कात्तिक ९ गते बसेपछि अहिलेसम्म सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएका थिएनन्। कांग्रेसलाई संस्थागत ढंगले अघि बढाउन सभापति नै बाधक बनेको, पार्टीलाई एकलौटी संचालन गर्न खोजेको तथा पार्टीका निर्णय बैधानिक तहबाट नभएर सभापतिको स्वविवेकबाट हाक्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले केन्द्रीय समिति बैठक माग गर्दै आएको थियो। 

पौडेलले गरेको मागको सुनुवाई नभएपछि गत फागुन १४ गते शनिबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगंजमा पौडेलपक्षले भेला नै गरेर पाँचबुँदे मागसहित केन्द्रीय समिति बैठक बोलाउन पौडेलले लिखित पत्र देउवालाई थामाएका थिए।


गतवर्ष चैत चार गते पदभार ग्रहण गरेका देउवाले त्यस यता जम्मा चार वटा केन्द्रीय समिति बैठक राखेका छन्। केन्द्रीय समिति बैठक कात्तिक यता पहिलो पटक आज बस्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell