
कुमार चौलागाई
स्वर्गद्वारी (प्यूठान) : स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सातबँदे घोषणापत्र जारी गरेको छ।
नेपाल पर्यटन बोर्डको सहयोग र होटल व्यवसायी महासङ्घको समन्वयमा सङ्घको प्युठान शाखाद्वारा शनिबार स्वर्गद्धारीमा आयोजना गरिएको पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रममा स्वर्गद्वारी क्षेत्र विकासका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यसहित व्यवसायीद्वारा यस्तो घोषणापत्र जारी गरिएको हो।
स्वर्गद्वारी क्षेत्रमा भक्तजन तथा श्रद्धालुका लागि आवास, यातायात तथा पूजा प्रसादको उपलब्धतालगायतका समस्या रहेको उल्लेख गर्दै व्यवसायीले सुविधा सम्पन्न होटल तथा लज बनाएर स्वदेशी÷विदेशी पर्यटकलाई सुविधा दिन आफूहरु तयार रहेको जनाएका थिए।
कार्यक्रममा होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले स्वर्गद्वारी क्षेत्रमा संरचना निर्माणको अनुमति दिइए सांस्कृतिक तथा धार्मिक मूल्य मान्यताअनुरुप व्यवसाय सञ्चालन गरेर पर्यटन विकासमा योगदान दिने विश्वास व्यक्त गरे।
स्वर्गद्वारीस्थित बाल तपस्वी वेद विद्यालय गुरुकुलम्का अध्यापक शालिकराम रिजालले आश्रम तथा तपोभूमि क्षेत्रको ऐतिहासिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्दैै आर्थिक अभावले गाईपालनमा समस्या भएको बताए।
घोषणापत्रमा स्वर्गद्वारी पर्यटन विकास समिति गठन गरी स्वर्गद्वारी विकास गुरुयोजना कार्यान्वयन गर्नुपर्ने, व्यवस्थित र आधुनिक धर्मशाला निर्माण गर्नुपर्ने, भिडरी–स्वर्गद्वारी सडकखण्डको स्तरोन्नति गर्नुपर्ने, स्वर्गद्वारीको नाममा रहेका देशका विभिन्न ठाउँका जग्गाको उचित व्यवस्थापन गर्नुपर्ने, स्वर्गद्वारीमा रहेको गौशालाको वैज्ञानिक व्यवस्थापन गरी गौ आरक्षण केन्द्रको रुपमा विकास गर्नुपर्ने लगायतका योजना समेटिएका छन्।