PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बर्डफ्लुको १० नमुना परीक्षणमा, कास्की र सुनसरीमा उच्च सतर्कता



रासस

बर्डफ्लुको १० नमुना परीक्षणमा, कास्की र सुनसरीमा उच्च सतर्कता

नारायण अधिकारी 

चितवन :
कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ। 

जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ। काठमाडौँ, पोखरा लगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी क्षेत्रमा हेटौँडा लगायतका क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको उनले बताए।

कार्यालयले अण्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित सङ्घ सङ्गठनका अध्यक्ष एवम् पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको सेढाईंको भनाइ छ।

दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजनासमेत बनाइएको उनले जानकारी दिए। सङ्घ सङ्गठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ जसमा फार्म प्रवेश गर्दा बाहिर लगाएको कपडा नलगाउन भनिएको छ र प्रवेशद्वारमा पानीको जैविक घोल बनाई त्यसमा टेकेर गाडी र मानिस प्रवेश गराउन लगाइएको छ। 

कार्यालयले जिल्लाका १४ वटा सेवा केन्द्रमार्फत तालिका नै बनाएर नियमित अनुगमन गर्ने र खोजी अभियानकै रुपमा काम गरिरहेको छ।

राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले पूर्वमा मकवानपुर, पश्चिममा नवलपरासी जिल्ला र चितवनका पूर्वी तथा पश्चिमी भेगमा खोजी अभियानलाई तीव्रता दिइएको बताए।

शङ्कास्पद देखिएका १० वटा नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको पनि चापागाईंले बताए। कम क्षति पुर्यााउने एच९एन२ फेला पर्न सक्ने भन्दै उनले बढी हानिकारक एच५एन१ भने अहिलेसम्म नभेटिएको जानकारी दिए।

नेपालमा एक सातामा एक लाख ३० हजार लेयर्स चल्ला र २२ देखि २५ लाख ब्रोइलर चल्ला उत्पादन हुँदै आएको छ। नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बर्डफ्लु भित्रिन नदिन व्यवसायीलाई उच्च सतर्कता अपनाउन भनिएको बताए।

नेपालमा कुखुराजन्य क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भएको व्यवसायीले बताउँदै आएका छन् जसको ५० प्रतिशतभन्दा बढी लगानी चितवनमा छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell