PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

उपभोक्तालार्इ सुरक्षित ग्यास दिन उद्योगमा यसरी हुँदैछ सुधार



पहिलोपोस्ट

उपभोक्तालार्इ सुरक्षित ग्यास दिन उद्योगमा यसरी हुँदैछ सुधार

काठमाडौं : मुलुकभित्र ५४ वटा ग्यास बोटलिङ प्लान्ट छन्। तीमध्ये कमै बोटलिङ प्लान्टले मात्रै मापदण्ड पूरा गरेर खाना पकाउने ग्यास उपभोक्तासम्म पुर्‍याएका छन्।

फितलो नियमनले मापदण्ड समेत पूरा नगरी उपभोक्ताको भान्छामा रहने खाना पकाउने ग्यास सबैभन्दा जोखिममा छ। सिलिण्डरको सामान्य सुरक्षामा समेत ध्यान नदिने उद्योगीले अहिले भने उद्योगलार्इ स्वचालित बनाउनेदेखि सिलिण्डर उपभोक्तासम्म पुग्नुअगाडि सबै जाँच गर्न थालेका छन्।

पछिल्लो समयमा ग्यास बोटलिङ प्लान्ट सुधारका लागि उद्योगी आफैँ अग्रसर हुन थालेका छन्। भारतबाट बुलेटमा ग्यास ल्याएर सिलिण्डरमा भरेर नाफा मात्रै लिने तर सुरक्षामा ध्यान नदिने विगतको अवस्था पनि फेरिएको छ।

परवानीपुर पर्सामा रहेको मनोज ग्यासले ग्यास रिफिलिङदेखि उपभोक्ताको घरसम्म पुर्या उँदासम्म सुरक्षाका सबै उपाय अवलम्बन गर्न थालेको छ। ‘सबैभन्दा पहिला मैले काम गर्ने सोच र मेरा कर्मचारीको सोच परिवर्तन गरेँ,’ उद्योगका सञ्चालक मनोज दासले भने, 'पहिला घरायसी तरिकाले उद्योग चलिरहेको थियो। मैले सिस्टममा चलाउन थालेँ। कुनै समस्या आउँदा कुन कर्मचारी जिम्मेवार रहेको स्पष्ट किटान गरेर काम गर्न लगाएँ।‘

उनका अनुसार उद्योग चलाउने सिस्टमलार्इ लिपिबद्ध गरिएको छ। ‘सिस्टममा उद्योग चलाउन थालेपछि ठूलो आत्मसन्तुष्टि भएको छ। उपभोक्तालार्इ पनि अझ सुरक्षित ग्यास पुर्या उन सक्षम भएकोले हामी सबै सन्तुष्ट भएका छौँ,’ उनले भने, 'अरुले ग्यास कम्पनी खोल्दै गएका छन्। नयाँ उद्योग खोल्न म पनि सक्छु तर भएको उद्योग नै राम्रोसँग नचलार्इ वा उपभोक्ताप्रति उत्तरदायी नभर्इ अरु उद्योग खोल्नुको अर्थ हुँदैन।'

उद्योगले गरेको सुधारकै कारण मनोज ग्यासले अन्तर्राष्ट्रियस्तरको आइएसओ र राष्ट्रिय रुपमा नेपाल गुणस्तर मापदण्ड पाउने पहिलो उद्योगको मान्यता समेत पाएको छ।

नेपालमा भएका एलपीजी बोटलिङ् प्लान्ट मध्ये एनएस/आइएसओ ९००१:२००८ र एनएस ५३३:२०७० प्रमाणीकरण गराउने पहिलो उद्योग बनेको छ। गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उद्योगले सुरक्षालार्इ उच्च प्राथमिकतामा राख्नुपर्ने बताउँदै जोखिम न्यूनीकरणका लागि उद्योगी सजग हुनुपर्ने बताए। उनले पछिल्लो समयमा ग्यास उद्योगी सचेत भएर सुरक्षामा ध्यान दिन थालेको बताए। 
 
दासले यो उद्योगलार्इ अपग्रेड गरेर स्वचालित ग्यास प्लान्टको रुपमा विकास गर्दैछन्। स्वचालित प्लान्टमा लैजान उद्योगमा झण्डै दुर्इ करोडको थप लगानी हुने उनले बताए। यो उद्योग २०५४ सालमा स्थापना भएको हो। ६० मेट्रिक टनबाट सुरु भएको यो उद्योगमा सात वर्षपछि ६० मेट्रिक टन क्षमता थपियो।
 
ग्यास खपत घट्ने चिन्ता
लोडसेडिङ हटेपछि खाना पकाउने ग्यासको खपत कम भएको छ। सधैँको जाडोयाममा ग्यासको अभाव भोगेका उपभोक्ता बत्तीसँगै ग्यास खोज्ने सास्तीबाट मुक्त भए।

लोडसेडिङ हटेपछि ग्यास उद्योगीलार्इ भने ग्यासको खपत बढाउने योजना बनाउन बाध्य बनायो। दासका अनुसार नयाँ प्रोडक्ट नल्याए सञ्चालनमा रहेका ग्यास उद्योग संकटमा पर्छन्। 

'अब ग्यासका नयाँ प्रयोग गर्ने विकल्पहरु खोज्न आवश्यक भइसकेको छ,’ उनले भने, 'हामीले घरायसी प्रयोजनमा मात्रै हेरेर हुँदैन।औद्योगिक प्रयोजनदेखि अन्य विकल्पहरु खोजिएन भने उद्योग सञ्चालन गर्न कठिन हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell