PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

मिर्गौला रोगी आमाको निधन भएपछि नाबालिकालाई दुई लाख सहयोग



पहिलोपोस्ट

मिर्गौला रोगी आमाको निधन भएपछि नाबालिकालाई दुई लाख सहयोग

काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका ताप्लेजुङ थेचम्बुका युवाहरूले एक मिर्गौलारोगीको उपचारार्थ संकलन गरेको रकम पीडितको मृत्यु भएपछि छोरीलाई हस्तान्तरण गरिएको छ।
 
ताप्लेजुङ थेचम्बु युवा एकता सेवा समाज मलेसियाले पठाएको दुई लाख रुपैयाँ राजधानीमा आयोजित कार्यक्रममा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मृतक २९ वर्षीया सुमिरा लिम्बूकी छोरी अढाई वर्षीया मुमिन लिम्बूलाई हस्तान्तरण गरे। थेचम्बु माइती भई झापामा बिहे गरेकी सुमिराको दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा पुसमा निधन भएको थियो। बिरामीको मृत्यु भएकाले सहयोग रकम उनकी छोरीको शिक्षादीक्षामा टेवा पुगोस् भनेर उपलब्ध गराइएको समाजका अध्यक्ष प्रबल मेन्याङ्बोलाई उद्धृत गर्दै थेचम्बु काबेली सेवा समाज काठमाडौंका सल्लाहकार मंगल मेन्याङ्बोले जानकारी दिए।
 
'काठमाडौंमा ल्याएर बिरामीको निःशुल्क डायलाइसिस भइरहेको थियो,' समाजद्वारा आयोजित कार्यक्रममा सल्लाहकार मेन्याङ्बोले भने, 'मिर्गौला प्रत्यारोपणको तयारी पनि हुँदै थियो तर एक्कासि हृदयाघात भएपछि उनको मृत्यु भयो।'
 
उनका अनुसार मृतकका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने छोरी ठूलीआमा निर्मलाको साथमा। मन्त्री गुरुङले यस्ता बिरामीलाई सरकारले विशेष सहयोग गरिरहेको उल्लेख गर्दै सुमिराको निधनप्रति दुःख व्यक्त गरे। वैदेशिक रोजगारीमा रहेका थेचम्बुका युवाको सहयोगले मुमिनको भविष्य निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell