PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गुराँसको राजधानी टिएमजेमा गुराँस टिप्न प्रतिबन्ध



रासस

गुराँसको राजधानी टिएमजेमा गुराँस टिप्न प्रतिबन्ध

तेह्रथुम : गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ। 

तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो। 

यी जिल्लाका करिब २५ गाविस क्षेत्रफलमा फैलिएको टिएमजे क्षेत्रमा यतिबेला २८ प्रजातिका गुराँस फुलेर यहाँका वन ढकमक्क भएका छन्। फूल टिप्दा हाँगा भाँचिने, गुराँसको बोट सुक्ने र यसको सौन्दर्य समेत गुम्ने भएकाले फूल टिप्न रोक लगाइएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए।

गुराँस हेर्न मात्र पाइने तर टिप्न नपाइने नियम लागू गरेपछि यस क्षेत्रको गुराँस वन संरक्षणमा सहयोग पुग्ने प्रजिअ तामाङको भनाइ छ। जिल्ला वन कार्यालयले पनि गुराँस नटिप्न र नकाट्न भन्दै चेतनामूलक जानकारी गराइरहेको छ। जिल्लाका विभिन्न सञ्चार माध्यममार्फत चेतनामूलक जानकारी दिइरहेको सहायक जिल्ला वन अधिकृत धर्मी यादवले बताए।

नयाँ वर्ष सुरु भएसँगै यहाँ गुराँस हेर्न आउने पर्यटकको समेत भीड लाग्न थालेको छ। अहिले दैनिकजसो सयौँको सङ्ख्यामा बाह्य तथा हजारौँ आन्तरिक पर्यटक आउने गरेका छन्। 

विगत वर्षमा चैत वैशाखमा मात्रै फुल्ने गुराँस आजभोलि फागुनदेखि नै फुल्न थाल्छ र जेठमा फुलिरहेकै हुन्छ। पछिल्लो समयमा मौसममा आइरहेको परिवर्तनका कारण गुराँस फुल्ने समयमा फेरबदल आउन थालेको स्थानीय बासिन्दा बताउँछन्। 

जलवायु परिवर्तनका कारण गुराँस फुल्ने समय प्रभावित बनेको लालीगुराँस संरक्षण समितिका संयोजक लक्ष्मण तिवारी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell