काठमाडौं : आगामी स्थानीय निकायको निर्वाचन सुरक्षा योजना र त्यसको कार्यान्वय सम्बन्धमा भोलि विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिने कार्यक्रम रहेको छ। बैठकमा पूर्वाञ्चल क्षेत्रको सुरक्षा अवस्थाका बारेमा छलफल हुनेछ।
यसैबीच, गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि त्यसतर्फ जाने तयारी मिलाउन गृहसचिब लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्। तयारी पूरा भएपछि केही दिनभित्रै घटनास्थल पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिवारलाई १० लाखका दरले राहत वितरण गर्ने कार्यक्रम छ।
यसैबीच, ६ वर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मारिएका मोरङ जिल्लाको अमाही बरियातीका वासुदेव शाहको परिवारलाई सरकारका तर्फबाट १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ।
भोलि हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री निधिले शाहका परिवारलाई भोलि विराटनगरमा क्षतिपूर्ति वापतको चेक हस्तान्तरण गर्ने छन्। २०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो।