PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

थ्रेसहोल्डको विरोध गर्ने साना १० दलबीच एकीकरण, चुनाव चिह्नबारे महाधिवेशनमा निर्णय हुने



पहिलोपोस्ट

थ्रेसहोल्डको विरोध गर्ने साना १० दलबीच एकीकरण, चुनाव चिह्नबारे महाधिवेशनमा निर्णय हुने

काठमाडौं : तीन प्रतिशत थ्रेसहोल्डको विरोधमा रहेका १० वटा साना राजीनीतिक दल एकै ठाउँ उभिएका छन्।

आइतबार रिपोर्टर्स क्बल नेपालमा संयुक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको हो। एकीकरणमा राष्ट्रिय चुरेभावर पार्टी, ग्रेटर नेपाल, राष्ट्रिय पुनर्जागरण पार्टी, नेपाल बहुजातीय समावेशी पार्टी, जनप्रजातान्त्रिक पार्टी, नेपाल गणतान्त्रिक जनता पार्टी, नेपाल वादी पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपाल र नेकपा माले समाजवादी समावेश छन्।

पार्टीहरुबीचको एकतासँगै अब छिट्टै एकता महाधिवेशन हुने समेत बताइएको छ। पार्टीका संयोजक कमल प्रसाद चौलागाईले ‘राष्ट्रवादी शक्ति एकजुट होऔँ’ भन्दै अपिल गर्दै भने, ‘निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरूले थ्रेसहोल्डको नाममा संघीयता र समावेशिताको धज्जी उडाउने काम भएको छ, हामी यसको घोर भर्त्सना गर्दछौं।’

नेकपा माले ‘समाजवादी’का अध्यक्ष विष्णुराज अर्यालले तीन प्रतिशत थ्रेसहोल्ड राख्ने निर्वाचन आयोग र मुख्य दलहरूको चर्को आलोचना गरे। ‘यो थ्रेसहोल्डले जनताको मतलाई अपमान गर्छ, समावेशिताको धज्जी उडाउने काम भैरहेको छ,' उनले भने।

कार्यक्रममा युवराज सफलले थ्रेसहोल्डको विरोध नभएर राष्ट्रवादीहरूको एकता भएको बताउदै पार्टीको झण्डा, निर्वाचन चिह्न लगायत अन्य सैद्धान्तिक कुराबारे एकता महाधिवेशनमा निर्णय गरिने जानकारी गराए। ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा मालेका अध्यक्ष सिपी मैनाली लगायतलाई एकीकरणमा बाँधिएर मुख्य राजनीतिक दलको सिण्डिकेट खारेजीमा एकजुट हुनको लागि अनुरोध गर्दछु,' उनले भने, 'नत्र हामीले रामराम भन्न सक्छौँ, काँध हाल्न सक्नेछैनौँ।’

पार्टी एकीकरण कार्यक्रममा नेपालवादी पार्टीका अध्यक्ष जेएन घिमिरे, बहुजातीय समावेशी पार्टीका कार्यवाहक अध्यक्ष रामेश्वर थापा, राष्ट्रिय पुनर्जागरण पार्टीका अध्यक्ष डिबी थापा, राष्ट्रिय मुक्ति आन्दोलनका सचिवालय सदस्य लक्ष्मीदत्त भट्ट लगायतका नेताहरूले आफ्ना धारणा राखेका थिए।

संसद्को राज्यव्यवस्था समितिले केही दिनअघि राजनीतिक दलसम्बन्धी विधेयक पारित गर्दै समानुपातिकतर्फ तीन प्रतिशत पाउने र प्रत्यक्षतर्फ एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने थ्रेसहोल्डको व्यवस्था गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell