PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अब बिहेमा डेढ सय जन्ती र भोजमा ५ सय १ जनालाई मात्र बोलाउन पाइने, नत्र ५० हजार जरिवाना



मनोज सत्याल

अब बिहेमा डेढ सय जन्ती र भोजमा ५ सय १ जनालाई मात्र बोलाउन पाइने, नत्र ५० हजार जरिवाना

काठमाडौं : अब बिहेमा बाजासहित डेढ सय जनालाई जन्ती र भोजमा ५ सय १ जनालाई बोलाउन पाइने भएको छ। यसअघि २०३३ सालमा बनेको सामाजिक सुधार ऐनले तोकेको व्यवस्थालाई परिमार्जन गर्न बनेको विधेयकले यो व्यवस्था गरेको हो।

२०७१ साल जेठमा गृहमन्त्री वामदेव गौतमले पेश गरेको विधेयकलाई संसदको राज्य व्यवस्था समितिले आज संशोधनसहित पारित गरेको हो। अब यो विधेयक संसदको पूर्ण बैठकबाट पारित भई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐन बनेर लागू हुनेछ।

समितिले पारित गरेको विधेयकमा सामान्यतया परिवर्तन नहुने हुँदा यो संख्या निर्धारण नै अन्तिम हुने लगभग निश्चित छ। 

गौतमको पालामा ल्याइएको विधेयकमा बिहे भोजमा ३ सय ५० जनासम्मको संख्या तोकिएकोमा अहिले त्यसलाई बढाएर ५ सय १ पुर्‍याइएको हो। १ सय ५० भन्दा बढी जन्ती लगे वा ५ सय १ भन्दा बढीलाई भोजमा बोलाए ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनले गरेको छ।

त्यसैगरी गौतमले पेश गरेको विधेयकमा  विवाहबाहेकका पास्नी, व्रतबन्ध लगायतका भोजमा सय जनाभन्दा बढीलाई बोलाउन नपाइने व्यवस्था भएकोमा आज राज्य व्यवस्था समितिले त्यो संख्यालाई बढाएर २ सय ५१ जना पुर्‍याएको छ। 

खर्च विवरण वडामा बुझाउनु पर्ने

विधेयकमा विवाह, व्रतबन्ध जस्ता सामाजिक व्यवहार गर्ने व्यक्तिले त्यस्तो व्यवहार सम्पन्न भएको मितिले ३५ दिनभित्र आफूले गरेको सामाजिक व्यवहार र त्यसमा गरेको खर्चको विवरण सम्बन्धित स्थानीय तह (वडा समिति) समक्ष पेश गर्नुपर्ने व्यवस्था राखेको छ। 

खर्च विवरण नबुझाए १० हजार रुपैयाँ जरिवानाको व्यवस्था विधेयकले गरेको छ। 

२०३३ सालमा सरकारले ल्याएको सामाजिक सुधार ऐनमा ५१ जनाभन्दा धेरै जन्ती लैजान नपाउने व्यवस्था थियो। तर ऐनको मन्त्री, न्यायाधीश र सेनाका हाकिमहरुले नै धज्जी उडाए पछि कार्यान्वयन गर्न समस्या परेको थियो। सामाजिक व्यवहार सुधार ऐन कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेपनि ऐन समय अनुकूल नभएपछि कार्यान्वयन हुन सकेको थिएन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell