
काठमाडौं : युवा पुस्तामा खेल भावना विकास गराउने उद्देश्यले नुवाकोटको झिल्टुङमा १३.४ किलोमिटरको क्रस कन्ट्री रेस आयोजना हुने भएको छ।
नुवाकोटको कोल्पुटारस्थित महादेव माविको आयोजनामा आगामी शनिबार उक्त रेस हुन लागेको आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। महिला र पुरुष दुवैतर्फ खुला तथा विद्यालय स्तरको रेस सञ्चालन गरिने भएको छ।
स्थानीय विद्यार्थीहरुलाई खेलप्रति आकर्षण गराउनुका साथै देशभरका खेलाडीको समेत सहभागिता गराउने लक्ष्यका साथ रेस आयोजना गर्न लागिएको विद्यालयका प्रध्यानाध्यापक केदारप्रसाद नेपालले बताए।
रोड रेसहरु धेरै भइरहेको अवस्थामा संघभन्दा बाहिरबाट क्रस कन्ट्री रेस हुनु राम्रो कार्य भएको रेस डिरेक्टर तथा नेपाल एथ्लेटिकस संघका उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणाको भनाइ छ। राणाले त्यस ठाउँबाट नयाँ र एथ्लेटहरु उत्पादन हुन सक्ने र राष्ट्रिय स्तरमा पुग्न सघाउ पुग्ने समेत विश्वास लिए।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले खड्काछापमा बसेर एकैरातमा कुञ्जिनी खण्डकाव्य लेखेका कारण उक्त स्थानलाई ऐतिहासिक महत्व रहेको समेत प्रध्यानाध्यापक नेपालले बताए।
क्रस कन्ट्री रेसलाई नेपाल एथ्लेटिकस संघले प्राविधिक सहयोग रहनेछ। डट रोडमा हुने रेसमा ५ किमि अपहिल, २ किमि फ्ल्याट र ६ किमि डाउनहिल रेस आयोजना गरिनेछ।
दौड नुवाकोट कोल्पुटारबाट सुरु भई बेलिनी, राजटार, खड्काछाप, माझगाउँ, लामाचौर हुँदै कोल्पुटारमै पुगेर समाप्त हुनेछ। राष्ट्रिय कीर्तिमानी खेलाडी कान्छीमाया कोजुले समेत खेलाडीलाई उत्साह प्रदान गर्न दौडिने बताइन्। उनी प्रतिस्पर्धी भने हुने छैनन्।
साढे २ लाख खर्च लाग्ने अनुमान गरिएको रेसमा सिनियरतर्फ ६० भन्दा बढी र विद्यायल स्तरमा सय सहभागीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।