राजविराज (सप्तरी) : तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताएका छन्।
आज राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने अडान दोहोर्याए।
अध्यक्ष ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप लगाउँदै मोर्चाको माग पूरा नभए आन्दोलनको विकल्प नरहेको बताए। 'संविधान संशोधन कसरी हुन्छ, त्यो काम सरकारको हो,' उनले भने, 'यसमा सबैले सहयोग र साथ दिनुपर्छ।'
अध्यक्ष ठाकुरले नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका पाँच जना निर्दोष भएकाले दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग समेत गरे।