काठमाडौं, कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीलाई स्थानीय तह निर्वाचन केन्द्रीत भएर अघि बढाउने निर्णय गरेको छ। करिव पाँच महिनापछि बसेको केन्द्रीय समिति बैठकले आगामी बैसाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गर्न पार्टीलाई त्यस अनुकूल परिचालन गर्ने निर्णय गरेको हो।
कांग्रेस स्थानीय चुनाव सम्पन्न हुनुभन्दा करिव डेढ महिनाअघि मात्र तयारीमा होमिएको हो। सभापति शेरबहादुर देउवाले चुनाव हाक्ने मुख्य सारथी १३ औँ महाधिवेशनका आफ्ना मुख्य प्रतिस्पर्धी रामचन्द्र पौडेलाई तोकेका छन्। उनले स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकमा पौडेललाई चयन गरेका हुन्।
‘द्वापर युगमा महाभारत हाक्ने सारथी कृष्ण थिए, स्थानीय तह निर्वाचन हाक्ने सारथी रामचन्द्र भएका छन्’, एक केन्द्रीय सदस्यले ठट्टा गर्दै भने, ‘खै कसले रामचन्द्रजीलाई बनाउँदा भइहाल्छ भन्नुभयो, शेरबहादुर देउवा मौन बस्नुभयो सबैले राम्रो भो, राम्रो भो भनेपछि उहाँ संयोजक बन्नुभयो।’