
रामपुर : कोलडाँडा सत्यवतीका ९७ वर्षीय खेमबहादुर दर्लामीलाई बिजुलीको उज्यालो बुढेसकालमा देख्न पाउँदा सपना जस्तै लागेको छ। जीवनमा उनले बिजुलीको उज्यालोमा बस्न पाइएला भनेर कल्पना पनि गरेका थिएनन्। वृद्ध दर्लामीलाई मात्र होइन युवापुस्ताकी रेनुका दर्लामीलाई दुर्गम र विकट यस सत्यवती गाउँमा बिजुलीको सुविधा आउँछ भन्ने लागेको थिएन।
सधैँ टुकी बालेर जीविका चलाउँदै आएकी दर्लामीले झिलिमिली बिजुलीको बत्ती गाउँभरि बलेको देख्दा अनौठो लागेको बताउछिन्। उनी भन्छिन् ‘सहरतिर जाँदा बिजुली बलेको देखिन्थ्यो। यस्तो दुर्गममा बिजुली बल्छ भन्ने कल्पनै गरेको थिइनँ।’
यहाँका स्थानीयवासीले २०६६ सालदेखि गाउँमा बिजुली ल्याउन प्रक्रिया सुरु गरे पनि लामो समयसम्म योजना सम्पन्न नहुँदा यति चाँडै बिजुली आउँला भन्ने आशा कसैले गरेका थिएनन्। स्थानीय जनताको सहभागिता र साविकको जिविस र गाविसको आर्थिक लगानीमा सुरुवात गरेको यो योजनाले सात वर्षपछि सफलता प्राप्त गरेको हो।
साविक जिविस र कोलडाँडा गाविसको पटकपटक गरी रु ५४ लाख २४ हजार ४९४ र स्थानीय जनताको रु छ लाख ६० हजार गरी कुल रु ६० लाख ८४ हजार ४९४ हजारको लागतमा विद्युत् विस्तार योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष देवसिंह दर्लामीले बताए। सत्यवती गाउँका ७७ घरपरिवार बिजुलीबाट लाभान्वित भएका छन्।
कपिलवस्तु मल्टी सप्लायर्समार्फत बिना टेन्डर साविक जिविसले खरिद गरेको सामग्री गुणस्तरीय मापन गर्दा कम गुणस्तरका भएको प्रमाणित भएकै कारण विद्युत् प्राधिकरणले ट्रान्सफर्मर चार्ज गरी लाइन दिन अस्वीकार गरेकाले विद्युत् प्राधिकरण र सहयोगी निकाय जिविसको विवाद बढेर योजनामा ढिलाइ भएको स्थानीय बासिन्दा जीवनकुमारी रास्कोटीले बताए।
दुई वटा कार्यालय आ–आफ्नै अडानमा रहेका बखतमा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाको पहलमा योजना अघि बढाइएको विद्युत् विस्तार समितिका सचिव सुरेन्द्र रेग्मीले बताए।
गाउँभरि उज्यालो हुने गरी बिजुली बलेपछि बालबालिकाको पठनपाठनमा सुधार आउने पृथ्वी प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक तुल्सीप्रसाद पौडेल बताउछन्।
दुई कार्यालयबीचको द्वन्द्वका विषयमा नेपाल विद्युत् प्राधिकरणका इन्जिजियर प्रमोद खनालले प्राधिकरणका आफ्नै ऐन नियम रहेको र गुणस्तर र मापदण्ड हेरेर मात्रै काम गर्नुपर्ने बताए। जिल्ला प्राविधिक कार्यालयका एक प्रविधिज्ञले पनि बिना टेन्डर खरिद गरिएका सामग्रीको परीक्षण गर्दा कमसल रहेको फेला परेको प्रतिक्रिया दिए। काँग्रेसका जिल्ला सभापति रानाले साविकको वडा नं ४ का बाँकी घरमा यसै आवमा बिजुली बत्ती बालिदिने वचन दिएका छन्। रासस