PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

छलफल नै नगरी प्रस्ताव पारितका लागि पेश गरेपछि देउवामाथि प्रश्नैप्रश्न



रमेश वाग्ले

छलफल नै नगरी प्रस्ताव पारितका लागि पेश गरेपछि देउवामाथि प्रश्नैप्रश्न

काठमाडौँ : मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी– नेपाली कांग्रेस।

दलीय व्यवस्था स्वीकार नगर्ने राणा शासकदेखि निर्दलीय पञ्चायत र एकदलीय साम्यवादीसम्मलाई प्रजातन्त्रको पाठ सिकाउने पनि उही कांग्रेस।

तर, त्यही कांग्रेस आफूभित्र कति प्रजातान्त्रिक अभ्यास गर्छ भन्ने प्रश्न सधैँ उठ्ने गरेको छ। पाँच महिनापछि आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई लिए प्रश्न फेरि दोहोरिएको छ।

बैठकको सुरुवातमा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नौबुँदे अजेण्डा प्रस्तुत गरे। बैठकको अजेण्डा प्रस्तुत हुनासाथ सभापति शेरबहादुर देउवाले नाम पढ्न थाले।

सबैको ध्यानाकर्षण भयो सभापति शेरबहादुरतर्फ। ध्यानपूर्वक सुन्नेहरुको मनमा कुरा खेल्न थाल्यो। केहीले कार्यसम्पादन समिति गठनको प्रस्ताव अजेण्डामा प्रस्तुत भइसकेकाले त्यही होला भन्ने अनुमान गरे।

देउवाले नाम पढिसकेर भने ‘मैले वरिष्ठताको क्रमागत आधारमा कार्यसम्पादन समितिमा यी नामहरु प्रस्ताव गरेको छु, २९ जनाको नाम प्रस्ताव भएकाले पदाधिकारी र प्रवक्ता पनि यही भित्रबाट पर्छ भन्ने बुझ्नुस् र यसलाई समर्थन जाउनुहोस्।’

देउवाका नजिक रहेका केही केन्द्रीय सदस्यले समर्थनमा 'ढ्यापढ्याप' पारिहाले।

यतिकैमा केन्द्रीय सदस्य डा. शेखर कोइराला उठेर भने, ‘यसमा मेरो केही भन्नु छ।’

कोइराला लिखित प्रस्ताव पढ्न थाले। कोइरालले प्रश्न उठाए– 'कात्तिकमा वरिष्ठताकै विषयमा उठेका प्रश्नको समाधान खोज्न आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा समिति बनेको थियो त्यो समितिको प्रतिवेदन कहाँ हरायो? समिति गठन गरिसकेपछि तपाईँ आफैँ वरिष्ठता निर्धारण गर्ने को?'

वरिष्ठतामा क्रियाशीलता र लोकप्रियता नहेरे युवा पुस्ताको पालो पुराना नेताहरुले राजनीतिबाट सन्यास लिएपछि मात्र आउने भन्दै उनले कटाक्ष गरे। कोइरालाले फेरि सभापतिलाई प्रश्न गरे, ‘म कसरी वरीयतामा तल र अरु कसरी माथि?’

एकपछि अर्को प्रश्न गरेपछि देउवाले कोइरालालाई जवाफ दिए, ‘कुनै आधारबाट पनि निर्विवाद हुन नसक्ने अवस्था भएकाले कम विवाद हुने बाटो रोजेको हुँ। यसले केही व्यक्तिलाई समेट्न नसके पनि धेरैलाई समटेको छ। यसलाई समर्थन जनाउनुहोस्।’

हलले ढ्यापढ्याप तालीसहित समर्थन जनायो। बैठक सुरु भएसँगै बिनाछलफल प्रस्ताव पारित भयो।

त्यसपछि देउवाले दुई/तीन नम्बरका प्रस्तावहरु पारित गर्न भन्दै धमाधम प्रस्ताव राख्न थाले। केन्द्रीय सदस्यहरु अक्क न बक्क भए। सभापति देउवालाई हेर्न थाले।

यतिकैमा हात उठाए, पूर्वप्रवक्ता समेत रहेका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले।

‘सभापतिज्यु, प्रस्तावहरु आएका छन्। यसलाई हामी सबैले सकारात्मक ढंगले लिएका छौँ। तर प्रस्तावमा छलफल समेत नगरी सिधै पारित गर्ने यो कुन पद्धति हो?’ बडुको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘कुनै पनि विषयमा बहस नै नगरी पारित भयो भन्न सकिन्छ? यसलाई समर्थन माग्न बन्द गर्नुहोस र छलफल चलाउनुहोस्।’

बडुको भनाइपछि देउवाले प्रस्तावमा छलफलमा भाग लिन आग्रह गरे।

बोल्ने पालो पाएपछि सबैभन्दा पहिले केन्द्रीय सदस्य खुमबहादुर खड्काले बैठकका अजेण्डामा कुरा राखेनन्।

उनले भने, ‘म मुलुकका विषयमा कुरा राख्न गइरहेको छु, संविधानसभाबाट संविधान जारी गरेपछि ट्रयाकमा आउनुपर्ने मुलुक झनझन् खराब बाटोमा गइरहेको छ। त्यसको कारण यो संविधानसभाले गरेको धर्मनिरपेक्षता सम्बन्धी निर्णय मुख्य कारण हो,' खड्काले भने, ‘प्रजातन्त्रमा जनताको आदेशभन्दा माथि केही पनि हुँदैन, यो समस्याको समाधान पनि सनातन् हिन्दु राज्य नेपाल र धर्म निरपेक्ष नेपालको मुद्दामा जनमतसंग्रह गरेर जनमतबाट गर्नुपर्छ।’

उनले जनमत संग्रहले धर्मनिरपेक्षतालाई विस्थापित गर्ने र समस्या समाधान हुने दाबी समेत गरे।

त्यसपछि भएको छलफलमा पनि केन्द्रीय सदस्यहरुले राखेका प्रस्तावमा दुई संयोजक तोकिए। बैठकले अन्य निर्णय गरेन। सभापति देउवाले प्रस्ताव राख्दा कांग्रेसले विगतमा थप गरेर अनुमोदन नगरेका ४२ विभागमा पूर्वसांसद् विभाग थप गर्ने प्रस्ताव राखे। तर, त्यसमा निर्णय भएको छैन।

सभापति देउवाले कार्यसम्पादन समितिमा बस्नेले विभागीय जिम्मेवारी नपाउने संकेत भने बैठकमा दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell