
काठमाडौं: फिल्म 'ए मेरो हजुर २'को टाइटल गीतले २४ घण्टा नबित्दै युट्युबमा दुई लाख साठ्ठी हजार बढी हिट्स बटुलेको छ। आइतबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको 'कसम हो' बोलको गीत ट्रेन्डिङको ४७ नम्बरमा रहेको छ।
कृष्णहरी बरालको शब्द रहेको गीत गायक सुगम पोखरेलले गाएका हुन्। गीतमा कल्याण सिंहको संगीत रहेको छ।
फिल्मको निर्देशक रहेकी नायिका झरना थापाको जन्मदिनको उपलक्ष्यमा गीत सार्वजनिक गरिएको थियो। गीतको भिडियोको सुरुवातमा झरना स्वयंमले सन् २००२ मा सार्वजनिक 'ए मेरो हजुर'को नायक श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीलाई श्रद्दाञ्जली दिएकी छिन्।
फिल्मी गीतको भ्युअर्स बढ्दो छन्। फिल्म वडा नंं ६को गीत 'सुर्के थैली खै'ले एक वर्ष नबित्दै एक करोड हिट्स बटुलेको चर्चा पछि नेपाली फिल्महरुमा गीत, संगीतलाई पनि महत्वका साथ समावेश गर्न थालेको प्रष्ट छ। त्यसयता फिल्म रेशम फिलिलीको 'जालमा', छक्कापञ्जाको 'पुर्व पश्चिम रेल', पुरानो ढुङ्गाको 'निर जैले रिसाउने' लुट टूको 'ठमेल बजार', पर्वको 'काले दाइ' चर्चा बटुल्न र फिल्म प्रमोशनमा सहयोग पुर्याउने गीतका उदाहरण हुन्।
अब फिल्म ए मेरो हजुर दुईको टाइटल गीतले पनि गीत सफलताको राम्रो संकेत दिएको छ। फिल्म 'ए मेरो हजुर'को सिक्वेल नभएपनि नाम भने पुरानै फिल्मबाट सापटी लिइएको हो। सस्पेन्स लभ स्टोरी ड्रामामा साम्राज्ञी राज्यलक्ष्मी र सालिनमान बानियाँको मुख्य अभिनय छ। त्यस्तै सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, विलशन बिक्रम राई, सुमन पौडेल आदीको पनि अभिनय रहेको छ।
फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्।
हेर्नुस् रेनेशा राईले निर्देशन गरेको गीतको भिडियो: