PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्यो, माटो परीक्षण गर्दै प्राविधिक



राधेश्याम पटेल

पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्यो, माटो परीक्षण गर्दै प्राविधिक

वीरगन्ज : रक्सौल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ।

निर्माणका लागि प्रारम्भिक चरणमा गरिने माटो परीक्षणको काम सुरु भएको हो। इन्डियन आयल कर्पोरेशन (आइओसी) ले दुर्इ साताअघिदेखि पाइपलाइन निर्माण हुने स्थानमा माटो परीक्षण गर्न थालेको हो।

कम्पनीले डिप बोरिङ गरेर माटो परीक्षण गरिरहेको छ। रक्सौलदेखि अमलेखगन्जसम्मको ३६ स्थानमा डिप बोरिङ गरेर माटो परीक्षण गरिने आइओसीका इन्जिनियर राजन सिंहले बताए। रक्सौल-अमलेखगन्ज पाइपलाइनको दुरी ४१ किलोमिटर हुनेछ।

रक्सौलबाट वीरगन्ज भन्सार क्षेत्रको रजतजयन्ती चोक, बसपार्क, गण्डक, परवानीपुर हुँदै अमलेखगज पुग्ने पाइपलाइनको रुट तोकिएको छ। माटो परीक्षण गर्ने प्राविधिक टोली परवानीपुर पुगेको छ।
राजमार्गको पश्चिमपट्टि माटो परीक्षण कार्य भइरहेको छ। आइओसीबाट आएको टोलीमा सात जना इन्जिनियर र सात अन्य प्राविधिक छन्। परीक्षण गर्न अझै तीन साता लाग्ने बताइएको छ।


करिब २० मिटर गहिराइसम्मको माटो, बालुवा, ढुंगा लगायत सामग्री संकलन गरी आइओसीको प्रयोगशालामा पठाइनेछ। प्रयोगशालाबाट आएको प्रतिवेदनपछि पाइपलाइन निर्माणको काम अघि बढ्नेछ। आइओसीले पाइपलाइन निर्माण गर्ने क्षेत्रको जग्गा अधिग्रहण गरिदिन आयल निगमलार्इ आग्रह गरिसकेको छ।

पाइपलाइन विस्तारपछि ट्यांकरबाट हुने चुहावट र मिसावट रोकिने आयल निगमका वीरगन्ज कार्यालयका प्रमुख उपेन्द्र नेपालले बताए। उनका अनुसार बन्द, हड्तालमा समेत निर्वाध रुपमा तेल आउन सक्नेछ। पाँच अर्बको लागतमा पाइपलाइनसहित अमलेखगन्जमा भण्डारण क्षमता समेत बढ्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell