PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

चितवन र शुक्लाफाँटामा गैँडा-बाह्रसिङ्गे साटासाट गर्न सय जनाको 'टास्कफोर्स'



रासस

चितवन र शुक्लाफाँटामा गैँडा-बाह्रसिङ्गे साटासाट गर्न सय जनाको 'टास्कफोर्स'

चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङ्गे गैँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लैजाने र शुक्लाफाँटाबाट बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने कार्य एकैसाथ गरिने भएको छ। यही चैत २१ गतेबाट गैँडा स्थानान्तरण थालिनेछ।

एक भाले र चार वटा पोथी गरी पाँच गैँडा शुक्लाफाँटामा स्थानान्तरण गर्न लागिएको हो। त्यस सँगसँगै सोही प्राविधिक टोलीले पाँच वटाकै हाराहारीमा शुक्लाफाँटाबाट बाह्रसिङ्गे यहाँ ल्याउन लागिएको छ।

चितवनबाट शुक्लाफाँटामा गैँडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

गैँडालाई शुक्लाफाँटा पुर्‍याउन प्राविधिक, सेना लगायतको एक सय जनाको टास्क फोर्स टिम बनाइएको छ। गैँडाको राम्रो वासस्थान रहेको सुकिभार, बुढी राप्ती र नमुना सामुदायिक वन क्षेत्रबाट शुक्लाफाँटाका लागि गैँडा लगिने प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए।

शुक्लाफाँटामा हाल नौ गैँडा रहेका छन्। यसअघि सन् २००० मा चार वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो। चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ। शुक्लाफाँटामा गैँडाका लागि चाहिने वासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ।

सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो।

यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा लगिएको थियो। बाह्रसिङ्गे हाल शुक्लाफाँटा र बर्दियामा मात्र रहेका छन्। केही वर्षअघि शुक्लाफाँटाबाटै बर्दियामा बाह्रसिङ्गे लगिएको थियो।

संरक्षणकर्मीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गर्न नहुने जनाइरहँदा निकुञ्जले बाह्रसिङ्गे पनि ल्याइने भन्दै विरोधलाई साम्य पार्दै आएको छ। दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जमा कोसीटप्पुबाट १२ वटा र सदरचिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell