PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

श्याम सिंघकको उपन्यास 'रेमिटल्याण्ड' सार्वजनिक



पहिलोपोस्ट

श्याम सिंघकको उपन्यास 'रेमिटल्याण्ड' सार्वजनिक

काठमाडौँ : वैदेशिक रोजगार र रेमिट्यान्सको प्रभावलाई आधार बनाई लेखिएको उपन्यास 'रेमिटल्याण्‍ड'को लोकार्पण गरिएको छ।

श्याम सिंघकद्वारा लिखित उपन्यासलाई लेखक राजन मुकारुङ र पत्रकार देवेन्द्र भट्टराईले सोमबार मण्डला थिएटरमा सार्वजनिक गरे।

पुस्तकमाथि टिप्पणी गर्दै मुकारुङले वर्तमान समाज सापेक्ष विषयको प्रस्तुतिले उपन्यासको गहनता बढेको बताए। 'लेखक समाजसँगै रहने भएकाले त्यहीँका कथा लेख्नुपर्छ,' उनले भने, 'आर्थिक अवस्थाले विदेश जानुपर्ने बाध्यता र त्योभन्दा पर शारीरिक आवश्यकता, यौनिकताको खोज अनि चिन्तनलाई पनि पुस्तकमा अटाइएको छ।'

विदेशबाट फर्केर आउँदा श्रीमती अर्कै पुरुषसँग गइसकेको तितो यथार्थ अहिले कहीँकतै देखिने भन्दै उनले त्यस्ता सामाजिक विषयको उठानलाई समाज मनोवैज्ञानिक कोणबाट उपन्यासमा लेखिएको बताए।

अर्का वक्ता भट्टराईले 'स्लो पोइजन' जस्तै देखिने रेमिट्यान्सको असर र प्रभावलाई लेखकले मिहिन रुपमा उपन्यासमार्फत केलाएको भनाइ राखे। कतैकतै स्वैर कल्पना हाबी भए पनि पात्रहरु जीवन्त भएको र पाठकमा प्रभाव छाड्ने उनको भनाइ थियो।

'सामाजिक संरचना फितलो भइरहेको र मानवीय संवेदना परस्पर टुट्दै गइरहेको बेला ‘रेमिटल्याण्ड’ले वास्तविक चित्र उतारेको छ,' भट्टराईले भने, 'सामाजिक विसंगति र खस्कँदै गरेको मूल्य मान्यतालाई पुस्तकले गहन बोध गरेको छ।'

आफू वैदेशिक रोजगारमा नगए पनि त्यहाँको कथा लेख्दा धेरै जना आश्चर्यमा परेको लेखकले प्रस्ट पारे। 'धेरैले सोध्नुभयो विदेश कति बसियो भनेर,' उनले भने, 'तर म वैदेशिक रोजगारमा थिइनँ। सोधखोज र अध्ययनबाट नै रेमिट्ल्याण्ड तयार भयो।' झापामा भेटेको एक पात्रको जीवनबाट प्रभावित भई उपन्यास लेख्न सुरु गरेको उनले सुनाए।

उपन्यासलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell