PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

एमाले र मोर्चाको चर्को स्वरबीच देशले कांग्रेसको स्वर सानो सुन्यो : विश्वप्रकाश शर्मा 



पहिलोपोस्ट

 एमाले र मोर्चाको चर्को स्वरबीच देशले कांग्रेसको स्वर सानो सुन्यो : विश्वप्रकाश शर्मा 

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक नियुक्ति र राजदूत नियुक्ति प्रकरणमा पार्टीको भूमिकाको आलोचना गरेका छन्। 

केन्द्रीय समिति बैठकमा लिखित दस्तावेज पेश गर्दै शर्माले पार्टी कतिपय राजनीतिक र प्रशासनिक सन्दर्भमा 'डिफेन्सिभ' हुन पुगेको भन्दै गुनासो गरेका हुन्। 

उनले केन्द्रीय समितिमा राखेको लिखित दस्तावेजमा भनेका छन् - कतिपय राजनीतिक, प्रशासनिक र अरु सन्दर्भमा हामी ‘डिफेन्सिभ’ किन हुन पुग्यौं? यसमाथि गहिरो चिन्तन गर्दै सतर्कता र सहमतिपूर्वक पार्टीको उचित पोजिसन बनाउन जरुरी छ । जस्तै– (प्रहरी महानिरीक्षक प्रकरण, राजदूत नियुक्ति प्रकरण)'

युवा नेता शर्माले पार्टीले हासिल गरेका उपलब्धिहरुको सामाजिक संजालदेखि सडक, चोक र मञ्चहरुसम्म चर्चा, रक्षा र पक्षपोषण गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन्।

शर्माले पार्टीले निर्वाचन केन्द्रित भएर तत्काल राष्ट्रव्यापी राष्ट्रिय एकता र सद्‍भाव व्यक्त गर्न अभियान चलाउनुपर्ने उल्लेख गरेका छन्। शर्माले 'हिमाल पहाड तराई मधेस अभियान' वा 'राष्ट्रिय एकता र मेलमिलापका लागि कांग्रेस अभियान' नाम दिएर अभियान चलाउनुपर्ने उल्लेख गरेका हुन्। 

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची महाकाली अभियान सञ्चालन गरिसकेको छ। त्यस्तै नयाँ शक्ति नेपालसमेत तराई पहाड हिमाल अभियानमा छ।

'मधेस मुद्दालाई थप सम्बोधन गरेर वातावरण सहज गराउनुपर्ने दायित्व हामीमा छ। एकातर्फ मधेसी मोर्चालाई मनाउनै पर्ने, अर्कातर्फ नेकपा एमालेलाई संविधान संशोधन लगायतका विषयमा विश्वासमा लिनैपर्ने दोहोरो चुनौति छ', शर्माले पेश गरेको लिखित दस्तावेजमा भनिएको छ – 'संशोधन नभई चुनाव हुन नदिने मोर्चाको चर्को स्वर र संशोधन प्रकृया अघि बढ्नै नदिने एमालेको अर्को चर्को स्वर बीचमा देशले कांग्रेसको स्वर सानो सुनिरहेको छ । दुई आवेग बीच समन्वय गर्न बसेको भद्र आवाज सानो नै सुनिन्छ।'

शर्माले संविधान कार्यान्वयनका लागि मधेसी मोर्चाको अपनत्व महसुस गराउन 'कन्भिन्स' गर्नुपर्ने समेत उल्लेख गरेका छन्। उनले त्यसका लागि पहिलो संविधान संशोधनमा सत्तामा नरहँदा समेत कांग्रेसले खेलेको भूमिका स्मरण गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell