काठमाडौँ : चीनले स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युआन सहयोग गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले निर्वाचनका लागि सहयोगको घोषणा गरेका हुन्।
नौ मिलयन चिनियाँ युआन भनेको नेपाली रुपैँयामा झण्डै १३ करोड ६३ लाख बराबर हुन आउँछ।
सरकारले आउँदो बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँगको भेटमा नेपाल संविधान कार्यान्वयनको चरणमा रहेको र निर्वाचन घोषणा भएको जानकारी गराएका थिए।
प्रचण्ड र राष्ट्रपति सि बीच ग्रेट हल अफ पिपुलमा भेटवार्ता भएको थियो। भेटमा द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
यसअघि उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनमा सहयोग गर्ने वचन दिएका थिए।
के के भए कुराकानी?
भेटमा प्रधानमन्त्री दाहालले विसं २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताएका थिए। प्रचण्डले चीन र नेपालबीच उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको उल्लेख गर्दै नेपाल र नेपाली जनता ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताएका थिए।
नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रूपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताएका थिए।
प्रचण्ड र राष्ट्रपति सि बीच ३५ मिनेट छलफल भएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई उदृत गर्दै राससले उल्लेख गरेको छ। चीनका राष्ट्रपति जिनपिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफेँले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल–चीन बीचको तातोपानी नाका सञ्चालन तथा अन्य नाका सञ्चालन गर्न आफू र आफ्नो सरकार गम्भीर रहेको र त्यस विषयमा यथाशक्य चाँडो लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनका राष्ट्रपति जिनफिङले दुई देशबीचका अन्य सम्भावित नाका सञ्चालन गर्ने विषयमा सकारात्मक जवाफ दिएका थिए।
भेटमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो। जवाफमा चीनका राष्ट्रपति जिनफिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
भेटमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो। रासस