अरुण सापकोटा-
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको कार्यतालिका अनुसार निर्वाचन हुन नसकेको आरआर क्यापसमा मंगलबार निर्वाचन हुने भएको छ।
गत फागुन २३ गतेका लागि तय भएको निर्वाचन प्रहरीले क्याम्पस प्रमुखसहित अन्यलाई प्रवेश रोक लगाएपछि हुन सकेको थिएन। नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आरआरमा निर्वाचनमा सहभागिताका लागि उम्मेद्वारी समेत दर्ता गरेको थिएन। तर मंगलबारको मतदान प्रक्रियामा भने नेविसंघ सहभागी हुने भएको छ।
'हामीले आइतबार नै प्यानलसहित उम्मेद्वारी दर्ता गरेका छौँ', नेविसंघको तर्फबाट सभापतिका उम्मेद्वार उत्तम साउदले पहिलोपोस्टसित भने, 'भोलि निर्वाचन हुन्छ। क्याम्पस प्रमुखले सर्वोच्चको आदेश सम्मान गर्न अनुरोध गरेपछि हामीले निर्वाचनमा भाग लिएका हौँ।'
यसअघि फागुन २३ गते निर्वाचनमा प्रहरी हस्तक्षेप भएको भन्दै अनेरास्ववियूले सर्वोच्चमा रिट दायर गर्दै निर्वाचन गराउन माग गरेको थियो। चैत २ गते सर्वोच्च अदालतले आरआर क्याम्पसमा निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको थियो।
आरआरको स्ववियूका लागि अनेरास्ववियूको तर्फवाट तपेन्द्र शाही, नेविसंघको तर्फबाट उत्तम साउद, अखिल क्रान्तिकारीको तर्फबाट ध्रुवराज वाग्ले र नयाँ शक्तिसहितको संयुक्त प्यानलबाट अरविन्द भट्टराईको नेतृत्वमा उम्मेद्वारी दर्ता भएको छ।