PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

सुरक्षा सहकार्य बढाउन चिनियाँ राष्ट्रपतिको प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव



पहिलोपोस्ट

सुरक्षा सहकार्य बढाउन चिनियाँ राष्ट्रपतिको प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव
फोटो : सिन्ह्वा

काठमाडौँ : चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालसँग सुरक्षा सम्बन्ध बढाउन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा राष्ट्रपति सिले तल्लो तहसम्म सम्बन्ध विस्तार गर्नुपर्ने उल्लेख गर्दै 'कानुनी राजका लागि सुरक्षा सम्बन्ध' बढाउनुपर्ने बताएका हुन्। 

चीनले नेपालसँग प्रतिआतकंवादसँग सम्बन्धित रहेर संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरिरहेका बेला चिनियाँ राष्ट्रपतिले सुरक्षाको विषय उल्लेख गरेका हुन्। प्रचण्डको चीन भ्रमणका दौरान नेपालमा रहेका चिनियाँ रक्षा मन्त्रीले संयुक्त सैन्य अभ्यासको विषयमा रक्षामन्त्री बालकृष्ण खाँडसँग छलफल गरेका थिए।

'सगरमाथा फ्रेण्डसिप' नाम दिइएको संयुक्त सुरक्षा अभ्यासको मिति भने तय हुन बाँकी छ। चिनियाँ विदेश मन्त्रालयले भेटवार्ताबारे आफ्नो वेबसाइटमा चिनियाँ भाषामा राखेको विज्ञप्तिमा भनिएको छ – स्थानीय तहमा गहिरो र वास्तविक सम्बन्ध विस्तार तथा कानुनी राजका लागि सुरक्षा सहकार्य गर्नुपर्ने विषय राष्ट्रपति सिले राख्नुभयो।'

भेटवार्तामा सिले 'वान बेल्ट वान रोड' परियोजनाबाट दुवै देशले लाभ लिन सक्ने बताएका थिए। 'दुवै पक्षको फाइदाजक सहकार्यका लागि वान बेल्ट वान रोड एउटा अवसर हुनसक्छ, जसले दुवै पक्षको सहकार्य वृद्धि गर्नेछ, व्यापार वृद्धि गर्नेछ भने कृषि, उत्पादनमा सहयोग पुग्नेछ।'


प्रचण्डले भने भूकम्पपछिको पुनर्निर्माणमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिएका थिए। त्यस्तै उनले चिनियाँ नीतिप्रति नेपालको समर्थन जनाउँदै नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका थिए। प्रचण्डले चिनियाँ राष्ट्रपतिको 'वान बेल्ट वान रोड' परियोजनाको समर्थन गर्दै सहकार्य गर्न इच्छुक रहेको बताएका थिए। प्रचण्डले चीनको अन्तराष्ट्रिय क्षेत्रमा बढ्दो भूमिकाको स्वागत गर्दै क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा निकटमा रहेर काम गर्न तयार रहेको बताएका थिए। 

भेटपछि के भने प्रचण्डले ?
भेटमा भएको कुराकानीबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया उनको व्यक्तिगत वेबसाइटमा राखिएको छ। प्रचण्डले भेटपछि - धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको बताएका छन्। प्रचण्डले भेट 'महत्वपूर्ण र उपलब्धिमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको' उल्लेख गरेका छन्। त्यस्तै भेटबारे प्रधानमन्त्री प्रचण्डको वेबसाइटमा - आफूले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ आएको बताएका छन्। तर उनले के के विषय उनले बैठकमा राखे भन्ने विषयमा भने खुलाइएको छैन। 

'छलफल सोचेभन्दा पनि माथि रहेको बताउनुभयो', प्रचण्डको धारणाबारे सिएम प्रचण्ड डट कममा उल्लेख छ, 'नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ।'

नौ मिलियन सहयोग
चीनले स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युआन सहयोग गर्ने भएको छ। प्रधानमन्त्री प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले निर्वाचनका लागि सहयोगको घोषणा गरेका हुन्।
 
नौ मिलियन चिनियाँ युआन नेपालमा झण्डै १३ करोड ६३ लाख बराबर हुन आउँछ। सरकारले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँगको भेटमा नेपाल संविधान कार्यान्वयनको चरणमा रहेको र निर्वाचन घोषणा भएको जानकारी गराएका थिए।

यसअघि उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनमा सहयोग गर्ने वचन दिएका थिए। 

३५ मिनेट छलफल
ग्रेट हल अफ द पिपुलमा ३५ मिनेट भएको भेटमा प्रधानमन्त्री दाहालले विसं २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताएका थिए। 

नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई उदृत गर्दै राससले उल्लेख गरेको छ। चीनका राष्ट्रपति जिनपिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफेँले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए। 

नेपाल–चीन बीचको तातोपानी नाका सञ्चालन तथा अन्य नाका सञ्चालन गर्न आफू र आफ्नो सरकार गम्भीर रहेको र त्यस विषयमा यथाशक्य चाँडो लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनका राष्ट्रपति जिनफिङले दुई देशबीचका अन्य सम्भावित नाका सञ्चालन गर्ने विषयमा सकारात्मक जवाफ दिएका थिए। 

भेटमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो। जवाफमा चीनका राष्ट्रपति जिनफिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राससले आफ्नो समचारमा जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell