PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

कांग्रेस बैठक : 'संविधान संशोधन अघि बढाऔँ, दुवै अतिवाद साइजमा आउँछ'



रमेश वाग्ले

कांग्रेस बैठक : 'संविधान संशोधन अघि बढाऔँ, दुवै अतिवाद साइजमा आउँछ'

काठमाडौं : कांग्रेस केन्द्रीय समिति बैठकमा मधेसी मोर्चालाई साथमा लिएरै चुनावमा जान र समस्या समाधानको बाटोमा लाग्न अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन्। 

हिजोदेखि सुरु केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले चुनाव सबै समस्या लिएर समाधान खोज्न जाने थलो भए पनि त्यसको वैधता र स्वीकार्यता नभए समाधान नभएर समस्या हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए।

केन्द्रीय सदस्यहरुले संसद्मा संविधान संशोधन प्रस्ताव अघि बढाए दुबै अतिवाद साइजमा आउने भन्दै संशोधन प्रस्ताव रोकेर राख्दा अतिवादी अडानलाई बल पुगेको बताए। 

'अहिले मोर्चा केही लचिलो भएको अवस्था छ, संशोधन प्रस्ताव अघि बढाउन केही विकल्पहरु प्रस्तुत भएका छन्,' केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, 'सके एक हप्ताको समय लिएर कुनै विकल्पमा सहमति जुटाउनुपर्छ। नसके सबै विकल्पहरु निर्णयका लागि संसद्मा लैजानुपर्छ।' उनले एमालेले विधेयक संसद्मा छलफल गर्न दिन्न भन्नु र मोर्चाको परिणाम स्वीकार गर्दिन भन्नु दुबै अतिवाद भएको भन्दै सदनमा निर्णयका लागि अघि बढे दुबै अतिवाद एउटा आकारमा आउने दावी गरे। 

'एमालेले सदनमा विधेयक लैजान दिन्न भनेको छ। लैजाउँ। उसले कसरी रोक्दो रहेछ,' ढुंगानाले भने, 'संशोधन प्रस्ताव पारित गर्न इमान्दार प्रयत्न गरौँ, मधेसी मोर्चाले कसरी स्वीकार गर्दो रहेनछ।' 

उनले सशस्त्र संघर्षमा रहेको माओवादी र निरङ्कुस राजा बीचबाट निकास निकाल्ने कांग्रेसले अहिलेका दुई अतिवादलाई चिर्न सक्नुपर्ने बताए।
केन्द्रीय सदस्य विमलेन्द्र निधिले अहिलेको संशोधन प्रस्ताव संसदमा लैजाँदा केही मत मात्र कम रहेको भन्दै निर्णयार्थ प्रस्तुत गर्दा दुई तिहाइ पुग्ने बताए। 

'सीमांकनसहितको प्रस्ताव संसद्मा लगे पनि पारित हुने अवस्था छ। केही कम भएको सिट पनि थपिन सक्छ,'  निधिले भने, 'झन् मधेसी मोर्चाले समेत सिमांकनका लागि आयोग बनाउने र बलियो र विश्वासिलो आयोगबाट काम गर्दा सहमत हुने भनेकाले विकल्पमा पनि जान सकिने अवस्था छ।' उनले संशोधनका लागि संसद्मा जाँदा विधेयक फेल भएमा पनि जनतामा त्यो एजेण्डा लिएर जान सकिने बताए।

केन्द्रीय सदसय फर्मुल्लाह मन्सुरले पनि संशोधन फेल वा पास जे भए पनि संसद्मा निर्णय हुनुपर्ने बताए। 'मधेसी मोर्चालाई बाहिर राखेर समस्याका समाधान निस्कँदैन। बरु थप समस्यामा फस्न सकिन्छ,' मन्सुरले भने, 'त्यसैले बरु फेल भयो भने जनतामा लिएर जान सकिन्छ। तर संशोधन प्रस्ताव र मोर्चालाई छोडेर चुनावमा जाँदा सहज अवस्था हुँदैन।' 

उनले एमालेले बाल हठ देखाएर जनतामा समेत भ्रम सृजना गरेको भन्दै विधेयक पारित भए जनतामा पनि भ्रमको पर्दा हट्ने बताए। 

केन्द्रीय सदस्य अजय चौरसियाले जनतामा कांग्रेसले संशोधन गर्छौ भनेर प्रतिबद्धता जनाइसकेकाले अब पछि हट्न नहुने बताए। बैठकमा अधिकांशले संशोधन गरेर चुनावमा जानुपर्ने बताए पनि केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र धनराज गुरुङले भने संशोधन प्रस्ताव अघि नबढाई वा सिमांकनको विषय हटाएर पारित गरी चुनावमा जान प्रस्ताव गरे। केन्द्रीय सदस्य भण्डारी हिजोको बैठकमा बोलेका थिए भने गुरुङले आजको बैठकमा बोलेका थिए।  

बैठक भोलि पनि 

नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेक्रम आज पनि नसकिएपछि बैठक जारी रहेको छ । 

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, उमाकान्त चौधरी, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, शङकर भण्डारी, ईश्वरी न्यौपाने, पार्वता डिसी चौधरी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, विश्वप्रकाश शर्मा, रमेश लेखक र किरण यादवले आफ्नो धारणा राखेका थिए। 

आइतबारदेखि सुरु भएको बैठकले यसअघि सभापति देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको थियो । 

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरिसकेको छ । 

बैठक भोलि चैत १५ गते बिहान ११ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell