PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

तेलमा भारतको एकाधिकार कायमै, इन्धन सम्झौता पाँच वर्षका लागि नवीकरण



पहिलोपोस्ट

तेलमा भारतको एकाधिकार कायमै, इन्धन सम्झौता पाँच वर्षका लागि नवीकरण

काठमाडौँ : नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ। 

आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा नवीकरण सम्झौता भएको हो। आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पोरेसन (आइओसी)ले उपलब्ध गराउनेछ। 

नेपाललाई उपलब्ध गराइने इन्धन हालको तुलनामा नेपाल–भारतसीमा सुनौली र वीरगन्ज क्षेत्रबाट नजिक सुविधासम्पन्न र ठूला डिपो राखिने र त्यसबाट नेपाललाई वार्षिक रुपमा रु एक अर्बभन्दा बढी रकम बचत हुने उनले जानकारी दिए। 

भारतबाट नेपाललाई इन्धन उपलब्ध गराएबापत प्राप्त गर्ने नाफाको सीमा शून्य दशमलव पाँच प्रतिशत घटाउन मन्जुर गरिएको छ। त्यसबाट नेपालमा ल्याइने इन्धन आपूर्तिको लागत अहिलेको तुलनामा कम हुनेछ । नेपाल र भारतबीच इन्धन आयात गर्ने सम्बन्धमा सहमतिमा पुग्न अप्ठ्यारो भएमा तेस्रो पक्षको मध्यस्थतालाई स्वीकार गरिने विषय पनि सम्झौतामा परेको उल्लेख छ । 

नेपालले भारतसँग वार्षिक रुपमा रु एक खर्बभन्दा बढी मूल्यको इन्धन आयात गर्दै आएको छ। नेपाल र भारतबीच रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपमार्फत उपलब्ध गराउने सहमति भएअनुरुप काम अघि बढिरहेको छ। इन्धनसम्बन्धी सहमतिका लागि नेपाल आयल निगमको टोली आइतबार नयाँ दिल्ली पुगेको थियो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell