PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

ग्रामीण क्षेत्रका ३० प्रतिशत जनताले स्थानीय तहको चुनावमा भोट हाल्न नपाउने



रासस

ग्रामीण क्षेत्रका ३० प्रतिशत जनताले स्थानीय तहको चुनावमा भोट  हाल्न नपाउने

जाजरकोट : यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन्। फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुने भएका हुन्।

त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ। फोटोसहितको मतदाता नामावली भर्न गाउँमा गएको जिल्ला निर्वाचन कार्यालयले प्रचारप्रसार नगर्दा उनीहरुले भोट हाल्न नपाएको बताएका छन्।

यो परिवारजस्तै सोही वडाकै धनवहादुर विकका छ जनाको परिवारले पनि मतदान गर्न नपाउने भएको छ। गाउँमा मतदाता नामावली भर्न कोही नआएका कारण आफूहरु छुटेको धनबहादुरले बताए।

त्यस्तै, बारेकोट गाउँपालिका–१ की महिला पेन्टे खत्रीको पाँचजनाको पूरै परिवारले मतदान गर्न नपाउने भएपछि खिन्न भएको बताएका छन्। मतदाता नामावली भर्न कति खेर आए आफूहरुलाई थाहा नै नभएको उनीहरुले बताएका छन्।

'नागरिकता मात्रै भए पनि भोट हाल्न पाइँदैन र?' स्थानीय लालबहादुर खत्रीले प्रश्न गरे। फोटोसहितको मतदाता नामावली नभएमा भोट हाल्न पाइँदैन भन्नेसम्म उनलाई थाहा छैन।

सञ्चारमाध्यमको पहुँच नभएका र वैदेशिक रोजगारी तथा भारतमा कमाइ गर्न गएका अधिकांश स्थानीय फोटोसहितको मतदाता नामावलीमा छुटेका हुन्।

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका स्थानीयको नागरिकता नहुनु र नागरिकता भएपनि फोटोसहितको मतदाता नामावली भर्नुपर्छ भन्ने ज्ञान नहुँदा स्थानीय भोट हाल्नबाट वञ्चित हुने भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell