PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

नाटक मञ्चनसहित मनाइयो विश्व रंगमञ्च दिवस



पहिलोपोस्ट

नाटक मञ्चनसहित मनाइयो विश्व रंगमञ्च दिवस
फोटो : प्रसुन सिन्धुलीय

काठमाडौं : विश्व रंगमञ्च दिवस नेपालमा पनि मनाइएको छ। काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलमा सोमबार नाटक मञ्चनसहित शुभकामना आदाप्रदान गरेर दिवस मनाइयो।

कार्यक्रममा प्राडा अभि सुवेदीले परफमिङ आर्टको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेशनल थिएटर इन्सिटिच्युट (आइटिआई) ले रंगमञ्च दिवसको अवसरमा विश्वव्यापी रुपमा जारी गरेको सन्देश वाचन गरेर सुनाएका थिए।

उनले नेपालमा आइटिआई स्थापना गर्दाका क्षणहरु सम्झँदै फेरि सक्रिय हुनुपर्नेमा जोड दिए।

यस वर्ष फ्रान्सकी रंगकर्मी तथा सिनेकर्मी इजाबेल हपर्टले विश्वव्यापी सन्देश दिएकी हुन्। उनले सो सन्देशबाट रंगमञ्चका लागि ठाउँ बनाउन सबैलाई आग्रह गर्दै आफ्नो जीवनका अन्तिम शब्दहरु यही रहेको उल्लेख गरेकी छिन्।

उनले भनेकी छिन्, ‘रंगमञ्चलाई नै थाहा छ कि जनसमुदाय बिनाको रंगमञ्च हुँदैन, यो कुरा कहिल्यै पनि नबिर्सौं। एकै जना मात्र भए पनि ऊ दर्शक हो। तर पनि यत्तिचाहिँ आशा गरौं धेरै सिटहरु खाली नरहून्।’

विश्वव्यापी सन्देशका नेपाली अनुवादक मेघराज अधिकारीले आइटिआई र आइटिआइको अभियानबारे औंल्याएका थिए। उनले आइटिआइले रंगमञ्चको उत्थान र विकासमा लागि कार्य गरिरहेको र रंगमञ्चप्रति जनसमुदायलाई उत्प्रेरित गरिरहेको बताए।

थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले विश्व रंगमञ्च दिवसको शुभकामना दिँदै अघिल्लो पुस्ताले आइटिआइमार्फत विधि रंगमञ्चीय गतिविधि गरेको सम्झे। विश्व रंगमञ्च दिवस मनाउने क्रममा डा. सुवेदीले नै लेखेको, घनश्याम श्रेष्ठ निर्देशित तथा शुष्मा कोइरालाको एकल अभिनय रहेको नाटक ‘यो कुनै वास हो एक’को अंश मञ्चन गरिएको थियो। सो नाटक गत जेठमा थिएटर मलमा नियमित मञ्चन भएको नाटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell