
काठमाडौं : चौधरी समूहले तीन वर्षमा स्वदेशमा ५० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। यो लगानीले साढे दुई हजार व्याक्तिका लागि रोजगारी थपिनेछ। अहिले चौधरी समूहले अहिले स्वदेशमा साढे ६ हजार व्याक्तिलाई रोजगारी दिइरहेको छ।
एफएमसिजी र होटलमा विश्वव्यापी लगानी विस्तार गरिरहेको चौधरी समूहले ठूलो लगानीको घोषणा गर्दै मुलुक भित्रको लगानीलार्इ प्राथमिकतामा राखेको दाबी गरेको छ।
समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फाष्टमुभिङ कन्जुमर गुड्स (एफएमसिजी), होटल, हाउजिङ, सिमेन्ट र जलविद्युतमा लगानी बढाउन लागेको जानकारी दिए। चौधरीले समूहको प्राथमिकता सधैँ नेपाल रहेको समेत बताए। 'हाम्रो प्राथमिकता संधै नेपाल हो,' उनले भने, 'त्यसलाई पुष्टि गर्ने गरी हामी तीन वर्षभित्र झण्डै ५० अर्ब लगानी थप्छौं।'
समूहले विश्वव्यापी रुपमा सञ्जाल विस्तार गरिरहेको वार्इवार्इ चाउचाउको प्लान्ट पूर्वाञ्चलको सुनसरीमा स्थापना गर्ने भएको छ।
५० करोडको लागतमा यो प्लान्टसँगै नेपालभित्र वार्इवार्इ चाउचाउको चार वटा प्लान्ट हुनेछ। अहिले ललितपुरको भैंसेपाटी, नवलपरासीको सिजी इन्ड्रस्ट्रियल पार्क र बर्दियामा वार्इवार्इको प्लान्ट छ।
सिजी इन्ड्रस्ट्रियल पार्क नवलपारासीमा पनि समूहले ३० करोडको लगानीमा क्षमता विस्तार गर्न लागेको चौधरीले बताए। नयाँ प्लान्ट र क्षमता विस्तारबाट वार्षिक साढे १४ करोडका दरले २९ करोड प्याकेट चाउचाउ उत्पादन बढ्नेछ।
स्वदेशी जुसमा प्रमुख बजार हिस्सा रहेको यो समूहले २५ करोड रुपैयाँ लगानी थप्ने भएको छ। रियो ब्राण्डको जुस बहुराष्ट्रिय कम्पनी डाबरपछि बढी बजार हिस्सा भएको दाबी गर्दै थप लगानी विस्तार गर्न लागेको उनले बताए। थप गरिएको लगानीले वार्षिक १२ लाख ६० हजार कार्टुन जुस उत्पादन थपिने उनले बताए।
नेपाल आइस ब्राण्डमा वियर उत्पादन गरिरहेको यो समूहले बियर उद्योगमा थप एक अर्ब लगानी गर्ने घोषणा गरेको छ। चौधरीले बहुराष्ट्रिय ब्राण्ड काल्सवर्गपछि वियरमा आफ्नो बजार हिस्सा रहेको दाबी गर्दै थप लगानीले बजार हिस्सा अझै बढ्ने बताए। नयाँ लगानीबाट वार्षिक ३६ लाख केस वियर उत्पादन थपिनेछ।
समूहले प्याकेजिङ उद्योगमा पनि २० करोड रुपैयाँ लगानी थप्न लागेको छ। यो लगानीबाट वार्षिक तीन करोड कार्टुनको उत्पादन थपिने पनि चौधरीले जानकारी दिए।
सिजी ब्राण्डमा सिमेन्ट उत्पादन गरेको चौधरी समूहले साढे ८ अर्ब लगानी गरेर दैनिक १ हजार ९ सय ५० टन क्लिन्कर उत्पादन गर्ने गरी सिमेन्ट उद्योगमा लगानी गरिरहेको छ। पाल्पामा रहेको यो प्लान्ट अर्को वर्ष पूरा हुनेछ।
त्यसैगरी नवलपरासीको दुम्किबासमा रहेको ग्राइन्डिङ युनिटमा पनि कम्पनीले थप ९५ करोड लगानी थपेर क्षमता विस्तार गर्नेछ। यो युनिटको क्षमता विस्तारपछि दैनिक २२ सय टन सिमेन्ट उत्पादन हुने चौधरीले जानकारी दिए।
समूहले जलविद्युतमा ठूलो लगानी घोषणा गरेको छ। समूहले दुई वटा रनअफ दि रिभर र एउटा स्टोरेज गरी २७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न लागेको जानकारी प्रवन्ध निर्देशक चौधरीले दिए।
समूहले १५ दशमलब १ मेगावाटको मध्यमोदीमा दुई अर्ब ८० करोड, ४४ मेगावाटको सुपरमादीमा सात अर्ब ५० करोड र जलाशययुक्त ६० मेगावाटको जलविद्युत आयोजनामा १७ अर्ब रुपैयाँ लगानी गर्ने समूहले जानकारी दिएको छ। मध्यमोदी आयोजना अर्को वर्ष पूरा हुनेछ भने सुमरमादी सन् २०२१ सम्म निर्माण सम्पन्न हुनेछ। १७ अर्व रुपैयाँ लगानी प्रस्ताव गरिएको स्टोरेज आयोजनाको अहिले सर्भे भैरहेको चौधरीले जानकारी दिए।
समूहले रियलस्टेट बजारलार्इ क्यास गर्न हाउजिङमा पनि ठूलो लगानीको घोषणा गरेको छ। समूहले सन् २०२२ सम्म १० अर्ब रुपैयाँ लगानी पुर्याउने जानकारी दिएको छ।
समूहले रियलस्टेट अन्तर्गत चितवनको भरतपुरमा ल्याण्डमार्कको निर्माण अन्तिम चरणमा रहेको जानकारी दिएको छ। दुर्इ अर्ब लगानी भएको ल्याण्डमार्कमा रिटेल मार्केटदेखि होटलसम्म रहने । यो चितवनको ट्रेन्डसेटर बन्ने चौधरीले बताए।
कम्पनीले ललितपुरको पुल्चोकमा पनि तीन अर्ब लगानीमा सिजी लिजेण्ड नाममा अन्तराष्ट्रियस्तरको प्रोपर्टी निर्माण गर्ने जानकारी चौधरीले दिए। डिजाइनको चरण पूरा भएको छ, चौधरीले भने अब निर्माणको काम सुरु हुन्छ।
समूहले सिजी हिल्सका नाममा इन्डिभिज्युल हाउजिङ निर्माणलाई पनि अघि बढाउने भएको छ। समूहले धरान, इटहरी, विराटनगर र पोखरामा हाउजिङ निर्माणको घोषणा गरेको छ।
ललितपुरमा रहेको समिट होटलमा दुर्इ अर्ब लगानी गरेर १ सय २० कोठा थप्ने समूहले जनाएको छ। चौधरीले समिटलार्इ नेपालको सबैभन्दा उत्कृष्ट हेरिटेज होटलमा स्तरोन्नती गर्ने बताए।
'हामी नमुना हेरिटेज होटलको रुपमा समिटलार्इ अपग्रेड गर्छौ,' उनले भने। जिंक सिटीका रुपमा झमेलमा निर्माण भैरहेको होटलमा डेढ अर्ब रुपैयाँ लगानी हुने प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए।
सन् २०१७मा निर्माण सकिने यो होटलमा १ सय १४ कोठा हुनेछन्। समूहले नवलपरासीमा पञ्चकन्या वेलनेश सेन्टर निर्माणको घोषणा गरेको छ। पचास करोड रुपैंयाँ लगानी रहने यो वेलनेस सेन्टरमा १८ भिल्ला निर्माण हुने चौधरीले जानकारी दिए। समूहका अध्यक्ष विनोद चौधरीले समूहले विश्वव्यापी रुपमा लगानी गरे पनि लगानीको केन्द्र नेपालनै रहने बताए।
'नेपालको कम्पनीले विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित हामीले गरेका छौं,' उनले भने, 'म जहाँ गएपनि नेपाल मसँगै झुण्डिएको हुन्छ। म नेपालमै झुण्डिरहेको छु।'
उनले मुलुकभित्र रहेको कृत्रिमदेखि प्राकृतिक अवरोधसँग नडरार्इ निरन्तर लगानी विस्तार गरिरहेको बताए। उनले २७ वर्षको निरन्तरको सघर्षबाट सफलता पाएको बताउँदै नेपालमै लगानीका लागि हेडक्वाटर समेत बाहिर नराखेको दाबी गरे।