काठमाडौं : केही बेरअघि पेट्रोल बम प्रहार भए पनि रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी छ।
सर्वोच्च अदातलको आदेशपछि निर्वाचनको मतदान प्रक्रिया सुरु भएको केही बेरमै पेट्रोल बम प्रहार भएको थियो। प्रदर्शनकारी विद्यार्थीहरुलाई प्रहरीले लखेटेपछि अवस्था अहिले सामान्य छ।
चुनाव रोक्न माग गर्दै विभिन्न विद्यार्थी संगठन सम्मितलित संयुक्त विद्यार्थी संगठनले बिहानैदेखि क्याम्पसबाहिर प्रदर्शन जारी राखेको थियो। मतदान भइरहेकाले सुरक्षा व्यवस्था भने निकै कडा बनाइएको छ। प्रदर्शनीमार्ग भएर चल्ने गाडीमा रोक लगाइएको छ।
त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण आरआरमा चुनाव स्थगित भएको थियो। कांग्रेस निकट नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण चुनाव रोकिएको थियो।
तर, एमाले निकट अखिल, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरिसकेका कारण फागुन २३ गतेका लागि निर्वाचन सारिएको थियो। उक्त मितिमा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत हुने भन्दै जिल्ला प्रशासन कार्यालयको पत्रचार अनुसार प्रहरीले चुनाव गर्न रोक लगाएको थियो।
आरआरको स्ववियु सभापतिका लागि अनेरास्ववियुका तपेन्द्रबहादुर शाही, नेविसंघका उत्तम साउद, अखिल क्रान्तिकारीका ध्रुवराज वाग्ले र नयाँ शक्ति पार्टीसहितको संयुक्त प्यानलबाट अरविन्द भट्टराईको नेतृत्वमा उम्मेदवारी परेको छ।