
इलाम : इलाम बरबोटे–७ की कविता आचार्य छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन्।
आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन्। क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। थाई प्रहरीले १२ जनवरीमा थाई क्रिमिनल कोर्टमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ। आचार्य र अधिकारीले भने आफूहरू निर्दोष भएको बताएका छन्।
अहिले अदालतमा मुद्दा चलिरहेकाले अदालतको आदेशअनुसार उनीहरूलाई जेलमा राखिएको छ। वकिलको परामर्श लिँदा उनीहरूलाई धरौटीमा छुटाउन दुई लाख ५० हजार थाई भ्याट धरौटी तिर्नुपर्ने बताएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ।
योसँगै वकिल राखेर उनीहरूको पक्षमा बहस र उनीहरूलाई भेटेर बहस नोट लेख्नका लागि कम्तीमा एक पटकको पाँच हजार थाई भ्याट लाग्ने र धरौटीमा छुटाउनका लागि कम्तीमा छ पटक भेट्नुपर्ने भएकाले उनीहरूलाई छुटाउन ठूलो रकम चाहिने बताइएको छ।
कसरी फसिन् कविता?
धन कमाउनका लागि विदेश जान खोजिरहेकी आचार्यलाई दलालले क्यानाडा पठाइदिने प्रलोभन देखाए। क्यानाडा जस्तो मुलुकमा जान पाउने भएपछि सरसापट गरेर भए पनि आचार्यले विदेश जाने निधो गरिन्। दलालले थाइल्यान्ड हुँदै क्यानाडा पठाइदिने भनेपछि अधिकारीसँगै असोजको अन्तिम हप्ता आचार्य थाइल्यान्ड हुँदै क्यानाडा हिँड्ने तयारी थियो।
त्यहाँ दलालले क्यानाडाको भिसा लगाएर राहदानी दिएपछि होटलमै थाई प्रहरीले पक्राउ गरेको आचार्यका आफन्तले जानकारी गराएका छन्। पक्राउ परेपछि सम्पर्क नभएकाले दलाल को हो भन्ने कुरा थाहा भइनसकेको परिवारले जनाएको छ।