काठमाडौं : निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा निर्धारण समितिले अधिग्रहण हुने जग्गाको मुआब्जा निर्धारण गरेको छ।
चैत्र १४ गते मुआब्जा निर्धारण समितिको बैठकले प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५०० रुपैयाँदेखि अधिकतम चार लाख ६० हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको हो।
अधिग्रहणमा परेको तर सडकले नछोएको जग्गा प्रति कठ्ठा दुई लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।
सहायक सडकले छोएको जग्गा तीन लाख ३९ हजार २५० रुपैयाँ प्रति कठ्ठा निर्धारण गरिएको छ।
त्यस्तै मुल सडकले छोएको जग्गा चार लाख ६० हजार रुपैयाँ प्रति कठ्ठा निर्धारण गरिएको छ। कल्हवी नगरपालिका वडा नम्बर ७ ककडी र करैया गाविस वडा नम्बर ८ काँटगाउँ क्षेत्रका जमिन अधिग्रहण हुँदैछन्।
मुआब्जा रकम दावी गर्नको लागि सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल जग्गाधनी प्रमाणपूर्जा, चालू आर्थिक वर्षमा तिरो तिरेको रसिद लगायत जग्गाको हकभोग सम्बन्धी सबुद् प्रमाणसहित चैत १४ गतेदेखि ३५ दिनभित्र रितपूर्वक निवेदनसहित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमरा बारामा सम्पर्क गर्नुपर्ने बताइएको छ।
३५ दिनभित्र निवेदन नपरेमा कानुन अनुसार आयोजना अघि बढ्ने जनाइको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा परी विस्थापित हुने र अन्यत्र घर जग्गा नहुनेहरुले सोको प्रमाण पनि पेस गरेमा, एक कठ्ठा भन्दा कम जग्गा हुनेहरुले तोकेको मुआब्जा भन्दा ५० प्रतिशत थप रकम पाउने छन्। एकदेखि पाँच कठ्ठा मात्र क्षेत्रफल हुनेहरुले थप २५ प्रतिशत रकम मुआब्जा पाउने निर्णय पनि समितिले गरेको छ।