PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

मादक पदार्थ सेवन गरी श्रीमती र छोरामाथि खुकुरी प्रहार



रासस

मादक पदार्थ सेवन गरी श्रीमती र छोरामाथि खुकुरी प्रहार
प्रतीकात्मक फोटो

नुवाकोट : विदुर नगरपालिका– ६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्।

अत्यधिक मादक पदार्थ सेवनगरी मंगलबार बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुवैको अवस्था गम्भीर भएको छ।

खुकुरी प्रहारबाट ४४ वर्षीया राममायाको टाउको र हातमा गहिरो चोट लाग्नुका साथै बाँया आँखा फुटेको छ। आमालाई बाबुले खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका २१ वर्षका छोरा राजुको पनि टाउको र घाँटीमा खुकरी चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

'अत्यधिक मादक पदार्थ सेवन गरी मध्यरातमा घर पुगेका यमलालले राममायाको ज्यान लिने उद्देश्यले टाउको र घाँटीमा खुकुरी प्रहार गरेको देखियो,' डिएसपी कँडेलले भने, 'छेक्न गएपछि छोरालाई पनि टाउको र घाँटीमा खुकरी प्रहार गरी गहिरो चोट लागेको छ, घटना ज्यान लिने उद्देश्यले भएको छ।'

यमलाललाई छिमेकीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। घाइतेको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell