बाबियाचौर (म्याग्दी) : बेनी–जोमसोम सडकखण्डमा २६ सिटभन्दा बढी क्षमता भएका सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्युनीकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमनाथ पोख्रेलले अञ्चल यातायात व्यवस्था समितिले यसअघि नै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएको बताए। सडक डिभिजन कार्यालय बाग्लुङको सिफारिसअनुसार सडकको अवस्था र सुरक्षालाई ध्यानमा राखेर उक्त सडकखण्डमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डमा यातायात सेवा दिँदै आएका स्थानीय व्यवसायीले बाहिरबाट आउने गाडीका कारण आफ्नो व्यवसाय धरासायी बनेको भन्दै २६ सिट क्षमत्ताको मापदण्ड लागू गराउन दबाब दिँदै आएका थिए।
अञ्चल यातायात व्यवस्थापन समितिको २०७१ असार १३ गते बसेको बैठकले उक्त सडकखण्डमा २६ जनासम्म सिट क्षमत्ता भएका गाडीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो।
यो मापदण्ड लागू भएपछि देशका विभिन्न ठाउँबाट मुस्ताङ जानका लागि बढी सिट क्षमत्ता भएका गाडी ल्याएर आएका पर्यटक तथा तीर्थयात्री अहिले समस्यामा परेका छन्।
यसअघि अस्थायी रुट अनुमति लिएर आएका सबै प्रकृतिका गाडीलाई सहज रुपमा उक्त सडकखण्ड भएर मुस्ताङ जान आउन दिने गरिएको थियो। शैक्षिक भ्रमणका क्रममा काठमाडौँबाट मुस्ताङ जान आएका राममणि शर्माले उक्त मापदण्डका कारण आफूले ल्याएको गाडी त्यही रोकेर स्थानीय व्यवसायीको गाडी प्रयोग गर्न बाध्य भएको गुनासो गरे।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख परशुराम जोशीले मुस्ताङबाट बेनी जोमसोम सडकमा २६ सिटभन्दा बढी क्षमत्ताका गाडी सञ्चालन गर्न नदिने निर्देशन आएको बताए।
म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले प्रशासनको निर्देशन अनुसार आफूहरुले २६ भन्दा बढी सिट क्षमत्ता भएका गाडी नचलाएको र बाहिरबाट आएका गाडीलाई पनि मापदण्ड लागू गराउनुपर्ने बताए।