PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

जुन रुखलाई भारतले सीमास्तम्भ दाबी गरेको थियो, नजिकै सहिद बनेका थिए गोविन्द



पहिलोपोस्ट

जुन रुखलाई भारतले सीमास्तम्भ दाबी गरेको थियो, नजिकै सहिद बनेका थिए गोविन्द

  • शेरबहादुर सिंह

पुनर्वास (कञ्चनपुर) : दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। तर १८ दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ।

पुनर्वास नगरपालिका– ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुङ्ग्रीको रुखभन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कल्भर्ट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम सहिद भए।

घटनापछि सिङ्गो देश केही दिन तरङ्गित बन्यो। आनन्द बजारको सीमाक्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए। भूमि रक्षाका लागि सहिद भएको भन्दै गौतम परिवारलाई अझैपनि देश–विदेशमा छरिएर रहेका नेपालीले सहयोग गरिरहेका छन्।

उक्त क्षेत्रमा लामो समयदेखि हराएको २०० नम्बर सीमास्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन्।

घटनापछि स्थलगत समाचार सङ्कलनका लागि त्यहाँ पुग्दा रासस प्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमाण्डेन्ट दिलवाग सिंहले स्थलगत रुपमै डुङ्ग्रीको रुख देखाउँदै भने, '२०० नम्बर पिलर हराएकाले हामी यही रुखलाई सीमास्तभ मान्छौं।' तर दशकौँदेखि आनन्द बजारक्षेत्रमा बस्दै आएका स्थानीयवासी भने भारतीय पक्षको उक्त दाबी गलत रहेको दलीलसहित नेपाली भू–भाग अतिक्रमणको दाउ मात्रै भएको बताउँछन्।

'काँङ्ग्री खोलामा निर्माण गरिएको कल्भर्ट छेउमै रहेको डुङ्ग्रीको रुखभन्दा झन्डै तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्छ,' सहिद गोविन्द गौतमका बुबा खेमलाल गौतमले भने, 'सीमास्तम्भ गायब पार्ने अनि हराएको बहाना बनाई अतिक्रमण गर्ने तरिका हो।'

स्थानीय छविलाल पौडेल पनि उक्त रुखभन्दा परैसम्म नेपालको भू–भाग रहेको भन्दै भारतले अतिक्रमण गर्दै नेपालतर्फ सर्दै गरेको बताउँछन्। 'भारतीय त पिलर नभएकै कारण कल्भर्टभन्दा वरै (हाल सशस्त्र प्रहरीको अस्थायी वेस क्याम्प बसेको घर) सम्मै दशगजा दाबी गर्छन्,' पौडेलले भने, 'जबकि डुङ्ग्रीको रुखभन्दा परसम्म नेपाली पूर्जा भएको जमिन छ।'

नेपाली लालपूर्जा भए पनि भारतीय पक्षले करिब एक दशकदेखि उक्त दुई बिघा खेत स्थानीयवासीलाई कमाउन दिएका छैनन्। जग्गाधनी स्थानीय करनबहादुर सुनारलाई भारतीय एसएसबीले जग्गा समेत भोगचलन गर्न रोक लगाएको छ। करनका श्रीमती तुलसादेवी सुनारले भनिन्, 'खेतमा गयो कि एसएसबी लखेट्न आइहाल्छन्।'

वर्षौंदेखि सीमास्तम्भ गायब

बेलौरीका पर्सबहादुर खड्काका अनुसार २०० नम्बर सीमास्तम्भ भारतीय पक्षबाटै वर्षौं पहिले गायब पारिएको हो। २०३८/३९ भन्दा पहिल्यै २०० नम्बर सीमास्तम्भ यहाँ नरहेको भन्दै प्यारातालदेखि फटैयाँ गाउँसम्म भारतको अतिक्रमण निरन्तर भएको उनले सुनाए।

सो क्षेत्रमा २०४६ सालमा पनि भारतीय पक्षले नेपाली भूमिमा आएर दाबी गरेको उनको भनाइ छ। 'त्यो बेला पनि स्थानीयवासीले भारतीयलाई लखेटेका थिए,' उनले भने, 'संयुक्त सर्वेक्षण टोली आएर भारतीय भूमिमै बसेर नापजाँच धेरै पटक गरे, संयुक्त टोलीमा रहेका नेपाली प्रविधिज्ञले हामीसित समन्वय नै गरेनन्।'

आनन्द बजारक्षेत्रका सीमावासीले भने कल्भर्ट निर्माणस्थल भन्दा वर दशगजामै भारतीय सुरक्षाकर्मी बस्दै आएका बताएका छन्।

'त्यो हरियो डुङ्ग्रीको रुख ढलेपछि केलाई सिमाना मान्ने?' आनन्द बजारका व्यापारी नौला शाहीले भन्छन्, 'यहाँ थिचोमिचो पहिलेदेखि नै थियो। अहिले आएर गोलीको प्रहारसमेत सहनु पर्‍यो।'

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल पनि लामो समयदेखि आनन्द बजार क्षेत्रको २०० नम्बर सीमास्तम्भ हराइरहेको बताउँछन्। भारतीय पक्षले सीमास्तम्भ हराएको अवस्थामा रुखलाई आधार मान्नु आधिकारिक नभएको उनको भनाइ छ।

'दुवै देशको संयुक्त सर्वेक्षण टोलीले नभन्दासम्म आधिकारिक मान्ने कुरो भएन,' उनले भने।

कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमाना छुट्याउने ३९० सीमास्तम्भ धेरै नदी खोलाले बगाएका छन् भने कतिपय सीमास्तम्भ मर्मतसम्भार हुन सकेका छैनन्।

केही दिनअघि सहिद परिवारलाई सरकारी राहत रकम दिन पुनर्वास पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०० नम्बर सीमास्तम्भ करिब एक सय वर्षभन्दा पहिलेदेखि हराइरहेकाले संयुक्त टोलीको सर्वेक्षणपछि सीमा विवाद हल हुने विश्वास व्यक्त गरेका थिए।

'घटनास्थलमै सालिक बनोस्'

सिमानामा भारतीय हस्तक्षेप र अतिक्रमणविरुद्ध लामो समयदेखि लड्दै आएका यहाँका स्थानीयवासीलाई सरकारले कुनै वास्ता नगरेको सहिद गौतमका बुबा खेमलालको गुनासो छ। सीमामा माटो बचाउनकै लागि लामो समयदेखि यहाँका स्थानीयवासी भारतीय पक्षको थिचोमिचो र वादविवाद सहदै आएका छन्। 'भारतीयले नेपाली भूमिमा रहेको रुखलाई सिमाना मान्दासम्म कसैले पनि चासो देखाएनन्,' उनले भने।

उनी यति बेला विक्षिप्त छन्। आनन्द बजारको उर्वरभूमिमा जन्मिएको छोरोले कलिलो उमेरमै माटोका लागि प्राण आहुति दिनुपरेको उनी बताउँछन्। 'अब कसैका छोराछोरीले यसरी मर्नु नपरोस्,' उनले आँसु पुछ्दै भने।

गोविन्दकी आमा हरिदेवी छोराको सालिक घटनास्थलमै बनाउनुपर्ने माग गरिरहेकी छिन्। 'पहिले आनन्द बजार क्षेत्रको सीमाङ्कनको टुङ्गो सरकारले लगाइदिनुपर्‍यो,' उनले भनिन्, 'त्यहाँ छोराको सालिक बनेपछि म त्यही हेरेर बाँकी जीवन बिताउनेछु।’रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell