PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

इमर्जिङ कप : नेपाल बंगलादेशसँग ८३ रनले पराजित



पहिलोपोस्ट

इमर्जिङ कप : नेपाल बंगलादेशसँग ८३ रनले पराजित
फोटो ब‌ंगलादेश क्रिकेट बोर्ड

काठमाडौं : एसीसी इमर्जिङ टिम्स कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग ८३ रनले पराजित भएको छ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल लगातार दुई खेल हारेसँगै दोस्रो चरण प्रवेश गर्ने सम्भावना सकिएको छ। लगातार दुई खेल जितिसकेका बंगलादेश र पाकिस्तान भने सेमिफाइनलमा प्रवेश गरेका छन्। बंगलादेशले पहिलो खेलमा हङकङलाई हराएको थियो। यस्तै आजै भएको खेलमा पाकिस्तानले पनि हङकङलाई पराजित गरेसँगै नेपाल र हङकङ एक खेल्नु अघि नै समूह चरणबाट बाहिरिएका हुन्।

२५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२.३ ओभरमा अलआउट हुँदै १७४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्र सिंह एरीले अर्धशतक बनाए। यस्तै यसै खेलबाट डेब्यु गरेका दीलिप नाथले ४१ तथा विनोद भण्डारीले ३३ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

कक्स बजारस्थित शेख कमल इन्टरनेशनल स्टेडियममा लक्ष्य पछ्याउने क्रममा नेपाललाई सुरुमै झड्का लागेको थियो।

अर्धशतक प्रहार गरेपछि नेपालका दीपेन्द्र सिंह (फोटो : रमन शिवाकोटी)

कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमा खाता नखोली आउट भए भने अर्का ओपनर सुनिल धमला पनि एक रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।

यस्तै तेस्रो नम्वरमा ब्याटिङ गरेका आसिफ शेख पनि १२ रन बनाएर आउट भए। दीलिप नाथ र आसिफ शेखले यसै खेलमार्फत नेपाली सिनियर टिममा डेब्यु गरेका हुन्।

सातौं ओभरमा १६ रन हुँदा महत्वपूर्ण ३ विकेट गुमाएकव नेपालका लागि दीपेन्द्र  रदीलिपले चौथो विकेटका लागि ९८ रनको साझेदारी गर्दै नेपालको रन स्कोर उसकेका थिए। 

तर त्यसपछि नियमित अन्तरमा विकेट गुमाउँदा नेपालले पुरै ओभर खेल्न सकेन भने कम स्कोरमा बलआउट भयो। नेपालका लागि दीपेन्द्रले सर्वाधिक ५६ रन बनाए भने दीलिपले ४१ रन योगदान गरे।

यस्तै आठौं नम्वरमा ब्याटिङ गरेका विनोद भण्डारीले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ६ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाए।

नेपालका मेहबुब आलम १०,  भुवन कार्की ६, शरद भेषावकर २ र र अभिनास कर्ण १ रनमा आउट भए। सन्दीप लामिछाने ३ रनमा नटआउट रहे।

(फोटो : रमन शिवाकोटी)

नेपाललाई अलआउट गर्न बंगलादेशका राहतुल फरदोस जाभेदले सर्वािधक ४ विकेट लिए भने सैफउद्दिनले ३ तथा अबुल हसन राजुले २ विकेट झारे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले उपकप्तान नासिर हुसेनको शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५७ रन बनाएको हो।

एक समय नेपालले दबाबमा राखेपनि बंगलादेशले पूरै इनिङ्स खेल्दै ठूलो स्कोर बनाएको हो। बंगलादेशका लागि हुसेनले नटआउट रहदै १०९ रन बनाए। ११५ बल खेलेका हुसनेले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान मोमिनुल हकले ६१ रनको योगदान गरे।

दशौं ओभरमा ३३ रन बनाउँदा ४ विकेट गुमाएको बंगलादेशका लागि कप्तान हक र उपकप्तान हुसेनले नै पाँचौ विकेटका लागि ७८ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए। 

त्यसयता नेपालले नियमित अन्तरमा विकेट झारेपनि उपकप्तान हुसेनले एक छेबाट बंगलादेशी इनिङ्स सम्हाले। उनले नवौ विकेटका लागि अबुल हसन राजुसँग ७६ रनको साझेदारी गरे।

यसबाहेक अबुल हसन राजुले २९, अफिफ होसेनल १४ तथा सैफ उद्दिनले १३ रन जोडे।

नेपालका लागि अभिनास कर्णले सर्वाधिक ३ विकेट लिए। यस्तै सन्दीपल लामिछानेले २ तथा कप्तान ज्ञानेन्द्र मल्ल, मेहबुब आलम र दीपेन्द्र सिंह एरीले १-१ विकेट लिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell