PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

आरआरमा स्ववियु चुनाव : १२ सय ६४ मतदाता सहभागी, मतगणना केही बेरमै



पहिलोपोस्ट

आरआरमा स्ववियु चुनाव : १२ सय ६४ मतदाता सहभागी, मतगणना केही बेरमै

काठमाडौं : तीन पटकसम्म रोकिँदै आएको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ।

मंगलबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको हो। कुल ३ हजार २ सय ८१ विद्यार्थी मतदाता भए पनि १ हजार २ सय ६४ मत मात्र खसेको छ।

मतदान सुरु भएको केही समयमा नै नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संघ क्रान्तिकारीले निर्वाचन बहिष्कार गर्दै प्रदर्शनसहित ढुंगामुढा प्रहार गरेपछि अवस्था केही बेर तनावपूर्ण बनेको थियो। प्रहरीले भिडलाई नियन्त्रण गरेकैबीच पेट्रोल बम प्रहार भएको थियो।

त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण अन्य केही क्याम्पसहित आरआरमा पनि स्थगित भएको थियो। कांग्रेस निकट नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण यहाँ चुनाव रोकिएको थियो। तर, एमाले निकट अखिल, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरिसकेका कारण फागुन २३ गतेका लागि निर्वाचन सारिएको थियो। उक्त मितिमा पनि स्थानीय तह निर्वाचनका लागि निर्वाच आयोगले जारी गरेको आचारसंहिता विपरीत हुने भन्दै जिल्ला प्रशासन कार्यालयको पत्रचार अनुसार प्रहरीले चुनाव गर्न रोक लगाएको थियो।

आरआरको स्ववियु सभापतिका लागि अनेरास्ववियुका तपेन्द्रबहादुर शाही, नेविसंघका उत्तमबहादुर साउद, अखिल क्रान्तिकारीका ध्रुवराज वाग्ले र नयाँ शक्ति पार्टीसहितको संयुक्त प्यानलबाट अरविन्द भट्टराईको नेतृत्वमा उम्मेदवारी परेको छ।

मतदान सकिएकाले अब सर्वदलीय बैठक बसी केही बेरपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell